कारबाही गर्ने सचिवको सरुवा लगत्तै डा. पण्डितलाई मुख्यमन्त्रीको पुरस्कार, रेक्टर बनाउन एक करोडको प्रलोभन

जनकपुरधाम । नवगठित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेशको जनस्वास्थ्य क्षेत्रको सुधारमा सिन्को भाँच्न नपाउँदै आर्थिक चलखेलको अखाडा कायम हुँदैछ ।
प्रतिष्ठानले मातहतको जनकपुर अस्पतालमा कर्मचारी तथा चिकित्सक नियुक्ति प्रक्रियाबाट काम सुरु गरेको थियो । उक्त प्रक्रियामा प्रतिष्ठानका तत्कालिन अस्पताल निर्देशक डा. रामनरेश पण्डित संयोजकत्वको छनौट समितिले आर्थिक चलखेल गरेको उजुरी अख्तियारमा पर्यो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी आधारमा अनुसन्धान गर्न मधेश प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्याललाई पत्र लेख्यो । पौड्यालले कानुन बमोजिम छानबिन समिति बनाएर अनुसन्धान गर्दा डा. पण्डितसमेत छनौट समितिका सबै (पाँचजना) सदस्यलाई दोषी ठहर गर्दै कारबाहीको लागि प्रतिष्ठानलाई सिफारिस गर्यो ।
प्रदेश सरकारका प्रमुख सचिवको सिफारिस बमोजिम कारबाही गर्ने अधिकार पाएको प्रतिष्ठान र सोही प्रतिष्ठान मातहतका डा. पण्डित सगोलमै परेको आधारमा कसैमाथि कारबाही भएन । प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले कारबाही गर्न लेखिएको सिफारिस पत्रमै स्पष्टता नभएको बहाना गरिरहे, समय काटिरहे ।
यतिबेला प्रदेश सरकारका तत्कालिन प्रमुख सचिव सरुवा भएर कर्णाली प्रदेश पुगेका छन् । उनी सरुवा भएर गएको र अर्को प्रमुख सचिव आइनपुगेको ठ्याक्कै संयोग मिलाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले डा. पण्डितलाई प्रतिष्ठानमै पठाइदिएको बुझिएको छ ।
त्यसअघि कर्मचारी नियुक्ति प्रक्रियामा आर्थिक चलखेल गरेको अभियोग लागेका डा. पण्डितलाई कारबाहीको सिफारिससँगै सोही मुख्यमन्त्री कार्यालयले पेन्डिङमा राखिदिएको थियो । तत्कालिन प्रमुख सचिव पौड्यालले एक चरणको कारबाही स्वरुप नै पण्डितलाई मुख्यमन्त्री कार्यालयमा थन्क्याएर राखिएको प्रतिक्रिया दिएका थिए ।
प्रमुख सचिव पौड्यालको सरुवा पर्खेर बसिरहेका पण्डितले आफुलाई प्रतिष्ठानमा पठाइदिन मुख्यमन्त्री कार्यालयलाई १० लाख रुपैयाँ बुझाएको विश्वसनीय स्रोतले जनाएको छ । आफ्नो नाम उल्लेख नगर्ने शर्तमा प्रतिष्ठानकै एक जना कर्मचारीले न्यूजआजसँग भने, ‘आर्थिक चलखेल गरेको अभियोग लागेर कारबाहीमा परेका डाक्टरलाई मुख्यमन्त्री कार्यालयले पनि आर्थिक चलखेल गरेरै उन्मुक्ति दिएको छ ।’
डा. पण्डितलाई मुख्यमन्त्री कार्यालयले उन्मुक्ति दिन आर्थिक चलखेल भएको सबुत खोज्दा प्रतिष्ठानका ती कर्मचारीले भने, ‘आफैले कारबाही सिफारिस गरेको अभियुक्ति डाक्टर उपरको कारबाही कहाँसम्म पुग्यो भनेर प्रतिष्ठानलाई ताकेदा गर्नुपर्ने दायित्व बोकेको मुख्यमन्त्री कार्यालयले उल्टै त्यहीँ प्रतिष्ठानमा सम्मानपुर्वक जिम्मेवारी तोकेर पठाउन कुन कानुन र कुन नैतिकताले मिल्छ ? यहाँ आर्थिक प्रलोभनमा परेर मुख्यमन्त्री कार्यालयले कारबाही गर्नुपर्नेलाई पुरस्कार दिएको हो नि ! यहीँ हो सबुत ।’
यसैबीच, प्रादेशिक अस्पतालको निर्देशक पदबाट कारबाही गरी निकालिएका डा. पण्डितले आफुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर पदमा नियुक्त गर्न एक करोड रुपैयाँको प्रलोभन दिएको बुझिएको छ । उक्त पदका लागि पण्डितको तुलनामा बढी योग्यता र अनुभव भएका उम्मेदवारहरुले आवेदन दिएका छन् । तर, उनीहरुलाई पैसाले उछिनेर रेक्टर नियुक्त हुन डा. पण्डितले मुख्यमन्त्री तथा स्वास्थ्य मन्त्रीलाई जनही ५० लाख रुपैयाँको दरले बुझाउन तयार भएको स्रोतले जनाएको छ ।
यसका लागि कुरा मिलाउन बिहीबार साँझ प्रतिष्ठानका उपकुलपति डा. अंकुर साह र डा. पण्डित स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंहको बलवाटोलस्थित निवासमा पुगेका थिए ।
लामो समयसम्म चलेको छलफलपछि गठबन्धनको सरकारको आडमा मुख्यमन्त्रीलाई मिलाएर नियुक्ति दिने तयारी अघि बढेको विश्वसनीय स्रोतले न्यूजआजलाई जानकारी दियो । ती स्रोतले भन्यो, ‘मुख्यमन्त्री सतिश सिंहले डा. पण्डितलाई आफ्नो रिस्कमा नियुक्तिका लागि हिम्मत नगरेपछि जनमत अध्यक्ष डा. सिके राउतको निर्देशन रहेको भन्दै अघि बढ्न सकिने कुरा भएको छ ।’