मुख्यमन्त्री – स्वास्थ्य मन्त्रालयबीच टकराव, मुख्यमन्त्रीको पुतला दहन

जनकपुरधाम । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको प्रमुख नियुक्ति सवालमा मधेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच टकराव उत्पन्न भएको छ ।

स्वास्थ्य मन्त्रालयको अधिकार क्षेत्रभित्र पर्ने काममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हस्तक्षेप गरेको भन्दै बुधबार एमाले निकट युवा संघले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले मुख्यमन्त्री सतिश सिंहको पुतला दहन गर्दै नाराबाजी गरेका थिए ।

केही महिना अगाडी बारम्बार सरुवा गर्दा पनि सरकारलाई अटेर गरेको भन्दै तत्कालिन प्रयोगशाला निर्देशक श्रवण मिश्रलाई हटाएर कुमार मृत्युञ्जय प्रसादलाई स्वास्थ्य मन्त्रालयले निमित्त निर्देशकको जिम्मेवारी दिएको थियो । सोही पदमा दुई दिन अघि प्रणव यादवलाई मुख्यमन्त्री कार्यालयले जिम्मेवारी तोकेर पठाइदिएपछि विवाद उत्पन्न भएको हो ।

गत पुस २८ गतेको दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत मिथिलेश कुमार महतोले यादवलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै प्रयोगशालाको निमित्त निर्देशकको रुपमा काम गर्न जिम्मेवारी सहित पत्र दिएका थिए । सोही पत्रको आधारमा यादव उक्त प्रयोगशालामा २९ गते हाजिर भए ।

तर, २९ गते नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशालालाई पत्र लेख्दै मुख्यमन्त्री कार्यालयको पत्र लिएर गएका यादवलाई हाजिर हुन नदिन पत्र लेख्यो । मन्त्रालयका निमित्त प्रदेश सचिव राजेश कुमार मिश्रले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बोधार्थ दिँदै प्रयोगशालालाई लेखेको पत्रमा भनिएको छ, ‘प्रयोगशाला दरबन्दी विवरणमा निज (यादव) को सेवा, समूह र पदको दरबन्दी रिक्त नदेखिएकोले निजलाई अर्को व्यवस्था नभएसम्मका लागि हाजिर नगराई सम्बन्धित कार्यालयमा फिर्ता पठाउन हुन मन्त्रिस्तरीय निर्णय अनुसार अनुरोध छ ।’

लगत्तै मन्त्रालयले प्रदेश लेखा नियन्त्रकको कार्यालयलाई समेत पत्र लेखेर मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको भनिएको प्रणव यादवको नाउँमा जनस्वास्थ्य प्रयोगशालाको खाता सञ्चालन गर्न नदिन पत्राचार गरेको छ ।

यता, यादवले भने आफु मुख्यमन्त्री कार्यालयको पुस २८ गतेको पत्रबाट २९ गते प्रयोगशालामा हाजिर भइसकेको व्यहोराको पत्र मुख्यमन्त्री कार्यालयमा पठाएका छन् । यता, प्रयोगशालाका कर्मचारीहरुले भने आर्थिक वर्षको आधा समय अर्थात् छ महिना बितिसक्दा पत्र संख्या १ उल्लेख गरी यादवले प्रयोगशालाको नामबाट मुख्यमन्त्री कार्यालयलाई लेखेको हाजिर भइसकेको व्यहोराको पत्र नै फर्जी भएको जिकिर गरेका छन् ।

संघीय सरकारबाट प्रदेश सरकारको अधिकार क्षेत्र माग्नुपर्ने बेलामा मन्त्रालयको अधिकार क्षेत्र मुख्यमन्त्री कार्यालयले मिचेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंहले असन्तुष्टी जनाएका छन् । उनीहरुको विवादको कारण बुधबार प्रयोगशाला कार्यालय दिनभर तनावग्रस्त रहेको छ ।

Facebook Comments Box