मधेशमा नयाँ सचिवको आगमनः अघिल्लो सचिवले सिफारिस गरेको डाक्टर पण्डितलाई होला त कारबाही ?

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको जनकपुर प्रादेशिक अस्पतालमा चिकित्सक तथा कर्मचारी नियुक्ति प्रक्रियामा भ्रष्टाचार गरको भन्दै प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्यालले अस्पतालका तत्कालिन निर्देशक डा. रामनरेश पण्डितसमेतलाई कारबाहीको सिफारिस गरेका थिए ।

चिकित्सक तथा कर्मचारी भर्ना प्रक्रियामा आर्थिक हिनामिना गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि प्रदेश सरकारका प्रमुख सचिवलाई जिम्मेवारी तोकेको थियो । प्रमुख सचिव पौड्यालले उक्त प्रक्रियामा चलखेल गरेको ठहर गर्दै पण्डितसमेतका अभियुक्त उपर कारबाहीका लागि प्रतिष्ठानलाई सिफारिस गरेका थिए ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसै वर्षदेखि चिकित्सा शिक्षातर्फ एमबिबिएसको कक्षा सुरु गर्दै छ । प्रतिष्ठानको एकेडेमिक कार्यभार सम्हाल्न डिन नियुक्ति प्रक्रिया अघि बढाइएको छ । उक्त पदका लागि कारबाही सिफारिसमा परेका डा. पण्डित पनि एक उम्मेदवार हुन् ।

प्रतिष्ठानले पण्डितलाई जसरी पनि डिन नियुक्त गर्ने दाउ पर्खिरहेको थियो । प्राप्त भएका आवेदनहरु मध्येबाट कम्तीमा तीन जना उम्मेदवारको नाम प्रतिष्ठानले सरकार समक्ष सिफारिस गर्नुपर्ने हो । सरकारको प्रमुख सचिव पदमा पौड्याल रहेसम्म प्रतिष्ठानले उनीहरुको नाम पठाएन ।

सोमबार पौड्याललाई सरुवा गरी कर्णाली प्रदेशमा पठाइएको छ । उनी मधेशबाट रवाना लिएलगत्तै प्रतिष्ठानले डिन पदका उम्मेदवारहरुको नाम सरकारलाई सिफारिस गरी पण्डितलाई नियुक्त गर्ने दाउमा रहेको प्रतिष्ठानकै एक अधिकारीले न्यूजआजलाई बताए ।

तर, प्रदेश सरकारले भने प्रमुख सचिवबाट कारबाहीको लागि सिफारिसमा परेका व्यक्तिलाई कुनै हालतमा डिन नियुक्त गर्न नमिल्ने बताइरहेको छ ।

आफ्नो नाम प्रकाशन नगर्ने शर्तमा ती पदाधिकारीले भने, ‘डा.पण्डितसँग पौड्यालको कुनै दुश्मनी छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकेको जिम्मेवारी वहन गर्दै सरकारका प्रमुख सचिवले आवश्यक संयन्त्र प्रयोग गरी अनुसन्धान गरेका हुन् । सो क्रममा दोषी ठहर भएपछि डा.पण्डितलाई कारबाही गर्न प्रतिष्ठान समक्ष सिफारिस गरिएको हो । पौड्याल सरुवा भएर जानुभए पनि प्रमुख सचिव (पद) रहिरहन्छ । त्यसैले कारबाहीका लागि सिफारिस भएका व्यक्तिलाई पदोन्नति गरेर पुरस्कृत गर्न मिल्दैन ।’

संघीय सरकारले पौड्याललाई कर्णाली प्रदेशका लागि सरुवा गरेपछि मधेश प्रदेश सरकारको प्रमुख सचिव पदमा मदन भुजेललाई पठाउने निर्णय गरेको छ ।

Facebook Comments Box