मधेशमा जनमतको सरकार रहन नसक्ने संकेत

जनकपुरधाम । लामो समयपछि मंगलबार बसेको मधेश प्रदेशसभाको चौथो अधिवेशनको प्रथम बैठकमा सत्तापक्षकै सांसदहरु सरकार विरुद्ध खनिएका छन् ।

सत्ता गठबन्धनका प्रमुख घटकदल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले त प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमतका केन्द्रीय अध्यक्षलाई नै चुनौति दिए, ‘सक्नुहुन्छ भने राम्ररी सरकार चलाउनुस् नभए कुर्सी ओगटेर नबस्नुस् ।’

मधेश सरकार जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्वमा सञ्चालन भइरहेको उल्लेख गर्दै पूर्व मन्त्री समेत रहेका यादवले भने, ‘आजबाट सुरु भएको प्रदेशसभा अधिवेशनले निरन्तरता पाउन् र सफलताको शुभकामना दिन आएको मञ्चबाट विरोध गर्न त चाहेको होइन तर नबोलेर नहुने स्थिति आएको छ । म च्यालेन्ज गर्छु सिके राउत वैज्ञानिक होला । विद्यार्थीलाई राम्ररी पढाउन सक्लान् तर व्यवहारिक ज्ञान सिक्न आवश्यक छ ।’

उनले जनमत नेतृत्वको सरकारबारे बजारमा अनेक प्रकारका हल्लाहरु च्लिरहेको उल्लेख गर्दै आवश्यक परे भेद खोल्ने चेतावनी दिँदै पार्टी अध्यक्ष राउतलाई चेतावनी दिए, ‘कांग्रेस र एमालेलाई भ्रष्ट, दलालको भन्ने तपाई जनतालाई दिग्भ्रमित गरेर कतिदिनसम्म राजनीति गर्नुहुन्छ ? हिजो सडकबाट लाखौलाई जागिर दिने प्रलोभन बाँड्नुभो । जितेर गएपछि किसानको समस्या जति सबै समाधान गरिदिने भन्नुभो आज छ महिनादेखि सरकारको नेतृत्वमा हुनुहुन्छ के कति काम गर्नुभयो देखाउन सक्नुहुन्छ ?’

सांसद यादवले मुख्यमन्त्री सिंह काममा सक्षम देखिएको छैन भने कोठामा बसेर निर्देशन गर्न सुझाव दिँदै सिके राउतलाई सार्वजनिक रुपमा अनावश्यक र अव्यवहारिक शब्दको प्रयोग नगर्न पनि सुझाव दिए ।

सत्तापक्षकै अर्का सांसद लोसपाका उपेन्द्र महतोले सिके राउतलाई कानुनको अधिनमा रहन सचेत गराए । चीनको युनान प्रान्तसँग मधेश प्रदेशको भगिनी सम्बन्ध जोड्ने सवालमा सार्वजनिक रुपमा वक्तव्य दिने राउतलाई यस्तो काम गर्न न कानुनले न मधेश सरकार र प्रदेशसभाले अधिकार दिएको उल्लेख गर्दै महतोले भने, ‘प्रतिनिधिसभा सदस्य र कुनै राजनीतिक दलको गरिमामय अध्यक्ष पदमा बसेर कानुन र अधिकारको ख्यालै नगरी नबोल्नुस् सिके राउतजी ।’

पूर्व मुख्यमन्त्री लालबाबु राउतले सिके राउत र जनमत पार्टीको कारण जगहसाइ भइरहेको टिप्पनी गरे । उनले प्रदेशको विकासमा प्रमुख बाधकको रुपमा सिके राउत र जनमत पार्टी लागेको आरोप समेत लगाए ।

चालु आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम मात्रै होइन, बजेट समेत ल्याएको सरकारले छ महिना बितिसक्दा एक सुको खर्च गर्न नसकेको उल्लेख गर्दै राउतले भने, ‘संसदलाई बन्धक बनाइदिने अनि आफैले ल्याएको बजेट खर्च नगरी हातमा हात राखेर बसिरहे प्रदेशको विकास हुन्छ ?’

जनमत सरकारले प्रदेश गौरवको एउटा पनि योजना नल्याएको र आफ्नो नेतृत्वमा ल्याइएको प्रदेश गौरवको योजनालाई समेत विफल पार्न षडयन्त्रमा लागेको गम्भिर आरोप राउतले लगाए । उनले कृषि विश्वविद्यालय जस्तो महत्वपूर्ण योजनालाई वार्षिक दस लाखको बजेट दिएर के गर्न खोजेको प्रश्न गर्दै प्रदेश विकासको अभियानमा बाधकको भूमिका नखेल्न चेतावनी दिए ।

पछिल्लो समय प्रदेशका मुख्यमन्त्रीलाई सार्वजनिक रुपमा निर्देशन दिएर मुख्यमन्त्रीको गरिमालाई ठेस पुर्याएको टिप्पनी गर्दै पूर्व मुख्यमन्त्री समेत रहेका सांसद तथा जसपा उपाध्यक्ष राउतले भने, ‘यस्तो नहोस् कि यो सरकारले काम सुरु गर्न नपाउँदै नेतृत्व फेरिइहाल्नेछ ।’

Facebook Comments Box