मधेश राजनीतिः सत्ताका लागि सहकार्य, संघर्षका लागि शर्त

सुरेश यादव

जनकपुरधाम । मधेश अधिकारका लागि संगठित अन्तर्राष्ट्रिय मञ्च मधेशी एकता समाजले मंगलबार संघीय राजधानीमा मधेश केन्द्रीत दलहरुका नेतालाई संवाद गर्न आमन्त्रण गरेको थियो ।

मधेश जनविद्रोह तथा लामो संघर्षपछि मुलुकको संविधानमा प्राप्त भएको अधिकारको रक्षा गर्दै पाउन बाँकी अधिकारका लागि एक पटक पुनः मधेशको मुद्दा लिएर राजनीतिक मैदानमा ओर्लिएका सबै दलबीच एकता र सहकार्यको आवश्यक्ता देखेर मधेशी एकता समाजले उक्त संवाद कार्यक्रमको आयोजना गरेको हो ।

यस्ता कार्यका लागि आफु अग्रसर नहुने मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन मधेशवादी दलहरु जसपा नेपाल, जनमत पार्टी तथा लोसपा नेपालले एकता समाजको कार्यक्रमलाई पनि प्राथमिकता दिएको देखिएन ।

संवाद कार्यक्रममा जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवलाई पठाइदियो भने जनमत पार्टीले प्रवक्ता शरदसिंह यादवलाई । लोसपा नेपालको तर्फबाट नेता अनिल झा सहभागी भए । यी तीनवटै दलका अध्यक्षहरु आफै उक्त कार्यक्रममा उपस्थित हुन आवश्यक्ता ठानेनन् ।

मधेश क्षेत्रलाई नै आधार बनाएर नयाँ राजनीतिक अभ्यासमा ओर्लिएको प्रभु साह नेतृत्वको आम जनता पार्टीले त कार्यक्रममा प्रतिनिधित्व पनि देखाएन ।

नवगठित राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोसपा नेता अनिल झा, जनमतका शरदसिंह यादव, स्वतन्त्र सांसद अमरेश सिंह र अशोक राई नेतृत्वको जसपाका इस्तियाक राई लगायत नेताहरु कार्यक्रममा सहभागी त भए तर सहकार्यका लागि हृदय खुल्ला राखेको देखिएन ।

आज जसपा नेपालबाट जसपा भन्ने अलगै पार्टी बन्नुको एकमात्र कारण हो सत्ता । हिजो जसपाबाट लोसपा नामक अर्को पार्टी खडा हुनुको एकमात्र कारण हो सत्ता । सत्ता प्राप्तिकै लागि हिजोका दिन विभिन्न ६ राजनीतिक दलहरुबीच रातारात एकता भई राजपा नामक पार्टी गठन भएको थियो ।

आज मधेशी एकता समाजले आयोजना गरेको मधेशको मुद्दामा मन्थनका लागि कोही सहभागी हुन आवश्यक नै ठान्दैनन् भने कोही सहभागी भएर पनि सहकार्यका लागि तत्परता देखाउन सकिरहेका छैनन् । कारण, के त भन्दा संघर्षका लागि जनताले मागेको एकता र सहकार्य हो । नेताले चाहने त सत्ता प्राप्तिका लागि भन्ने सन्देश मंगलबारको विचार मन्थन कार्यक्रममा उठेका कुराहरुबाट देखियो ।

डा.रविन्द्र कुमार यादवको अध्यक्षतामा आयोजित विचार मन्थन कार्यक्रममा बोल्ने राजेन्द्र महतोदेखि राजकिशोर यादव, इस्तियाक राई, अनिल झा, शरदसिंह यादवसमेत सबैले मधेशवादी दलहरुबीच एकता र सहकार्य आवश्यक भएको तर आफ्नो फलानो र ढिस्कानो शर्त रहेको उल्लेख गरे ।

कसैले निर्णायक आन्दोलनका लागि सहकार्य गर्नुपर्ने बताए भने कसैले कुनै दल वा नेता विशेषको संरक्षणका लागि सहकार्य हुन नसक्ने जिकिर गरे । जबकी सबैलाई आ आफ्नो हैसियत बोध भइसकेको छ, नेपाली राजनीतिमा उनीहरु एक्लाएक्लै अघि बढे आफ्नो स्थान कहाँ पुग्नेछ ।

Facebook Comments Box