अनुशासनको नाउँमा ‘कार्यकर्तामाथि जनमतको डन्डा’

जनकपुरधाम । जनमत पार्टीले अनुशासनको नाउँमा पार्टीभित्रको विकृतिविरुद्ध पनि बोल्न नपाउने ‘वाक् स्वतन्त्रतामा अंकुश’ लगाउने निर्णय गरेको छ ।

यहीँ पुस १४ गते बसेको जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले आफ्ना कार्यकर्तालाई पार्टीको पक्षमा वकालत गर्न आदेश गर्नुका साथै पार्टीका कुनै नेताविरुद्ध बोल्न नपाउने सहित पाँच बुँदे निर्णय गरेको छ ।

‘पार्टीका पदाधिकारी तथा कार्यकर्ताले सामाजिक सञ्जालमा हरेक दिन कम्तीमा एक पोष्ट गर्नुपर्ने र उक्त पोष्ट पार्टीको सकारात्मक विषयलाई प्रचार गर्ने खालको हुनुपर्नेछ’ निर्णयको पहिलो बुँदामा उल्लेख छ ।

पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरुले सो पोष्ट गरे, नगरेको एउटा सामाजिक सञ्जाल अनुगमन समितिले निगरानी गर्ने र पार्टीको प्रचारमा नलागेकालाई घटुवा गर्ने निर्णय अर्को बुँदामा उल्लेख गरेको छ ।

पार्टीका पदाधिकारी तथा कार्यकर्ताले पुस महिनाभित्रै सामाजिक सञ्जालमा नयाँ आइडी खोलेर अभियानमा सहभागी भइसक्नुपर्ने निर्देशन तेस्रो बुँदामा लेखेको छ ।

चौथो बुँदामा भनेको छ, ‘पार्टीका पदाधिकारी तथा सदस्यहरुले सामाजिक सञ्जाल वा सार्वजनिक रुपमा पार्टीको विरुद्धमा अभिव्यक्ति दिने, बोल्ने, लेख्ने, वा पार्टीको छविमा आँच आउने वा पार्टीलाई अहित हुने गतिविधि गर्नु हुँदैन । सो गरेमा पार्टीको विधान अनुसार कारबाही हुने प्रावधान छ ।’

र, पाँचौ बुँदामा भनेको छ, ‘पार्टीको सदस्य भनेको एउटा जिम्मेवारी हो । त्यसैले सदस्य भएपछि लाभ मात्रै खोज्ने होइन, पार्टीमा कुनै आक्रमण भए प्रतिरक्षा गर्नुपर्छ ।’

बैठकपछि जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेश कुमार मण्डलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पार्टीका कुनै २–४ पदाधिकारी गलत भयो वा पार्टीका कुनै सभासद वा मन्त्रीले तपाइले भने अनुरुप काम गरिदिएन भन्दैमा आक्रोसित भएर सामाजिक सञ्जालमा केही लेख्न हुँदैन ।’

जनमत पार्टी जनताको हितमा र भ्रष्टाचार, अनियमितताको विपक्षमा काम गर्ने राजनीतिक दलको रुपमा उदाएपनि सरकारमा गए लगत्तै तानाशाही प्रवृति देखाउन थालेको भन्दै सामाजिक सञ्जालमा पार्टी समर्थक तथा अन्य दलका कार्यकर्ताले पनि चर्को आलोचना गरिरहेको देखिन्छ ।

Facebook Comments Box