शिक्षामन्त्रीले भनिन्, ‘राजनीतिकर्मीलाई मुर्ख भन्ने बुद्धिजिवीलाई हामीले पढाइरहनुपर्ने ?’

जनकपुरधाम । मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारीले राजनीतिकर्मीलाई जहिल्यै मुर्ख देखाउने बुद्धिजिवीहरुलाई पनि सही र गलत छुट्याउने ज्ञानको कमी भएको औल्याएकी छिन् ।

सोमबार जनकपुरमा आयोजित ‘शिक्षामा नीति संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिवारीले सरकारी सुविधाको भरमा परिवार पालिरहेका शिक्षकहरुलाई राजनीतिमा लाग्न नहुने बताइन् ।

उनले भनिन्, ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निरन्तर खस्किदो छ । आफुभन्दा कम तलब, सुविधा पाउने निजी विद्यालयले राम्रो गरिरहेको बेला दुई–तीनगुणा बढी सुविधा लिने आफुले त्यो स्तरको परिणाम दिन किन नसकेको भनेर आत्मसमिक्षा नगर्ने ?’

शिक्षकहरु राजनीतिमा लाग्नै नहुने पक्षमा आफु रहेको उल्लेख गर्दै मन्त्री तिवारीले प्रदेशमा दयनीय अवस्थामा रहेको शैक्षिक अवस्थामा सुधार ल्याउन नेतृत्वदायी भूमिका निर्वाहका लागि शिक्षकहरुलाई निर्देशन गरिन् ।

‘शिक्षामा जवाफदेहिताका लागि नागरिक समाजको सशक्तिकरणः दिगो विकास लक्ष्य ४ (चार) का लागि साझेदारी सुदृढिकरण’ विषयक नीति संवाद कार्यक्रममा शिक्षामन्त्री तिवारीसँगै मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साह, शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला, पूर्व सहसचिव डा.तुलसी थपलीया र पर्सास्थित पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरी लगायत सरोकारवालाहरु सहभागी थिए ।

योजना आयोग उपाध्यक्ष डा. साहले उपलब्ध बजेट र काम गर्न पाएको अवधिको तुलनामा प्रदेश सरकारले शिक्षामा सन्तोषजनक काम गरेको उल्लेख गर्दै अझ धेरै गर्न आवश्यक रहेको बताए । उनले भने, ‘प्रदेश सरकारलेभन्दा बढी बजेट शिक्षाका लागि एनजिओहरुले खर्च गरिरहेको छ । त्यस आधारमा ती संस्थाहरु पनि जिम्मेवार भइदिन आवश्यक छ ।’

प्राध्यापक डा. कोइरालाले मधेशको शैक्षिक अवस्था दयनीय रहेको उल्लेख गर्दै सुधारका लागि पर्याप्त सम्भावना पनि रहेको बताए । उनले भने, ‘यहाँको शैक्षिक स्तर खस्केको त छ तर सुधार गर्नै नसक्ने होइन । सुधार गर्ने आधार पर्याप्त छ ।’

Facebook Comments Box