डेढ दशकपछि मधेशवादी नेताहरु एउटै मञ्चमा भेट्दै

जनकपुरधाम । दोस्रो जनआन्दोलनले तय गरेको आधारमा हुन लागेको तत्कालिन संविधानसभा निर्वाचन नै बिथोलिनेगरी भएको मधेश आन्दोलनको डेढ दशकपछि मधेशवादी नेताहरु एउटै मञ्चमा भेला हुँदैछन् ।

यो अवधिमा मधेशमा अधिकारका लागि आन्दोलन गरेका नेताहरु धेरै जुटे, धेरै फुटे । मधेश केन्द्रीत कयौं नयाँ पार्टीहरुको उदय भयो, कयौं पार्टी हराएर गयो । समय समयमा विचार मिल्ने दलहरुबीच एकता भयो त कहिल्यै कार्यगत एकता । यतिबेला सबै नेता सबैतिर मुख फर्काएको अवस्था छ ।

करिब एक दशक अघि मधेशवादी दलहरुको असहमतिकै बीच मुलुकले नयाँ संविधान पायो । उक्त संविधान सर्वस्वीकार्य बनाउन आवश्यक संशोधनका लागि पनि आन्दोलनको कुरा भयो तर मधेशवादी दलहरु एकताबद्ध रहन नसकेकै कारण सफल हुन सकेन ।

यतिबेला छिन्नभिन्न भएकै कारण सबैतिर कमजोर साबित भइरहेका छन् मधेश केन्द्रीत दलका नेताहरु । आफ्नो प्रभावमा पुनर्ताजगी ल्याउन सबै मिल्नुको विकल्प नरहेको उनीहरुले महसुस गर्न थालेका छन् ।

यसै परिवेशमा डिसेम्बर ३१ को दिनलाई अवसर पारेर नयाँ वर्षमा नयाँ ढंगले प्रस्तुत हुनेगरी माहोल बनाउन सबै नेताहरुलाई एउटै मञ्चमा भेला गराउँदैछ, मधेशी एकता समाजले ।

समाजका संस्थापक अध्यक्ष डा.रविन्द्र यादव तथा समाज नेपाल च्याप्टरकी डा. बबी सिंहको संयोजकत्वमा आयोजना हुन लागेको विचार मन्थन कार्यक्रममा मधेश केन्द्रीत दलका अधिकांस नेताहरु आमन्त्रित छन् ।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, पूर्व मन्त्रीहरु हृदयेश त्रिपाठी, अनिल झा, राजकिशोर यादव, इस्तियाक राईन, स्वतन्त्र सांसद अमरेश सिंह, मधेशी एक्टिभिस्ट तुलानारायण साह र शिक्षाविद् दिपेन्द्र चौवे लगायत मधेशवादी अभियानीहरु सहभागी हुँदैछन् ।

पुस १६ गते दिउँसो १२ बजेदेखि अनामनगरस्थित तमु बौद्ध सेवा समिति परिसरमा मन्थन आयोजना गर्न लागिएको कार्यक्रम सञ्चालक सरोज रायले न्यूजआजलाई जानकारी दिए ।

Facebook Comments Box