‘पहाडी शासकबाट विभेद भयो भन्यौँ, अहिले त मधेशीकै नेतृत्वमा सरकार छ त !’
जनकपुरधाम । आइतबार बिहान जनकपुरधामस्थित वेलकम होटलमा नेपाल पिस विल्डिङ इनिसिएटिभ्स नामक गैरसरकारी संस्थाले एक कार्यक्रम आयोजना गर्यो । कार्यक्रमको उदेश्य थियो, ‘जन्मदर्तामा सबैको पहुँच सुनिश्चित होस् ।’
कार्यक्रमको सहजीकरण गरे मधेश प्रदेशसभा सदस्य राम अशिष यादवले । करिब दुई दर्जनको संख्यामा सहभागी थिए दलित समुदायका अगुवा तथा अभियन्ताहरु ।
कार्यक्रममा प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव दिलिप ठाकुरले दलित विकास समितिको प्रतिवेदन प्रस्तुत गरे । उनले प्रतिवेदनको रुपमा सजाएर प्रस्तुत गरेको तथ्याङ्कले दलित समुदायको प्रगति सम्भव नरहेको चमार कल्याण समाजका मधेश प्रदेश अध्यक्ष सुरेन्द्र रविदासले टिप्पनी गरे ।
मन्त्रालयका सचिव ठाकुरले औपचारिकता प्रस्तुत गर्दै दलित वर्गको उत्थानमा देखिएको अवरोध, समस्या र समाधानका उपाय उल्लेखित प्रतिवेदन देखाए । ठाकुरले नै देखाएको समस्या र समाधानको उपायबीच तालमेल भने देखिएन ।
ठाकुरको प्रतिवेदन प्रस्तुतिपछि चमार कल्याण समाजका प्रदेश अध्यक्ष रविदासले भने, ‘हिजो पहाडीया शासकले विभेद गर्यो भन्यौं । अहिले त मधेशीया नै हो प्रदेश सरकार प्रमुख, शासक । अनि खोइ त विभेद हटेको ?’
कार्यक्रममा अभियानी अर्जुन साहले जन्मदर्ता प्राप्तिका लागि विद्यमान कानुनी व्यवस्था, कानुनको कार्यान्वयन पक्ष, चुनौति र समाधानको उपाय लगायत विषय प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक अंकितासिंह राठौरले जन्मदर्ताबाट कोही बञ्चित नहोउन् भन्नका लागि सरोकारवाला पक्षलाई जिम्मेवार बन्न र बनाउन ध्यानाकर्षण गराएकी थिइन् ।
दलित अभियान एवम् हंसपुर नगर कार्यपालिका सदस्य राजेश सक्सेनाले हिजो राज्यबाट र आज मधेशी समुदायबाटै विभेदमा परिरहेको गुनासो गरे । मधेश प्रदेशका आठवटै जिल्लाका १३६ वटै स्थानीय तहमा आफु पुगेर अध्ययन गरेको उल्लेख गर्दै सक्सेनाले भने, ‘मधेश प्रदेशमा दलित दूध हो, कानुन कार्यान्वयन गर्नेहरु बिरालो । बिरालोले दूधको रक्षा गर्नै सक्दैन ।’
सक्सेनाले स्थानीय तह र वडा कार्यसमितिहरुमा दलितको सहभागिता गराइएपनि निर्णायक तहमा पहुँच हुन नसकेको जिकिर गरे । ‘दलित महिलाहरु वडा कार्यसमितिमा त पुगे तर अहिले पनि फ्रुटी र १२७५ रुपैयाँ भत्ताकै लागि आफुहरु त्यहाँ पुगेका बुझिरहेका छन्’ उनले भने, ‘दलित महिलाको बुझाइमा परिवर्तन ल्याउने दायित्व राज्यको होइन ?’
प्रदेश सांसद रुपा यादव, राष्ट्रिय मुस्लिम संघका अध्यक्ष चन्देश्वर सदा, हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य राजेश सक्सेना, शहीदनगर नगरपालिका ३ का वडा अध्यक्ष मनोज दास, सोही नगरपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष कन्हैया मुखिया, चमार कल्याण समाजका रविदासलगायतले जन्मदर्तामा सबैको सहज पहुँचवारे आफ्नो धारणा राखेका थिए ।