संघर्षको मुडमा जसपा र रामुपा

जनकपुरधाम । मधेशको समस्या समाधानको लागि भनेर नवगठित राष्ट्रिय मुक्ति पार्टी (रामुपा) र सत्ताबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) संघर्षको मुडमा देखिएको छ ।

मधेशले प्राप्त गरेको अधिकार पनि गुम्ने खतरा देखिरहेका यी दुई पार्टीले विचार मिल्ने अन्य राजनीतिक दलहरुसँग पनि सहकार्य र समन्वयगरी संघर्षको तयारीमा लाग्न नेताहरुले संवाद थालेका छन् ।

यसै सन्दर्भमा जसपा महासचिव रामकुमार शर्माले रामुपा अध्यक्ष राजेन्द्र महतोसँग भेटेर छलफल गरेका छन् । मुलुकलाई दुई ठूला दलहरुले मिलेर दुई दलीय व्यवस्था लाद्न खोजेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

देशको अर्थतन्त्र अत्यन्तै कमजोर मोडमा पुगेको बखत दुई ठूला दलले मिलेर साना दलहरुको अस्तित्व समाप्त पार्न खोजेको विषयमा चिन्तन गर्दै उनीहरुले मधेशले प्राप्त गरको अधिकार रक्षा तथा थप अधिकारका लागि संघर्षको अर्को विकल्प नरहेको भन्ने निष्कर्षमा पुगेको महासचिव शर्माले जनाएका छन् ।

जसपाले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा अन्तर पार्टी समन्वय समिति समिति नै गठन गरेको छ । सोही क्रममा महासचिव शर्माले रामुपा अध्यक्षलाई भेटेको जनाइएको छ ।

Facebook Comments Box