प्रथम एनपिएलको ट्रफी उचाल्न मानवसागर
जनकपुरधाम । जनकपुर बोल्ट्सले जितेको ऐतिहासिक प्रथम नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी उचाल्न शुक्रबार जनकपुरधाममा मानवसागर ओर्लिएको देखियो ।
लिग जितेको एक हप्तापछि ट्रफीसहित जनकपुर आइपुगेका खेलाडीहरुको मनोबल उकास्नुका साथै जीतको खुशी मनाउन समर्थकहरुले जनकपुरधामको सडक खचाखच भरिएको थियो ।
रजौलस्थित अन्तर्राष्ट्रिय रङ्गशालाबाट दिउँसो निकालिएको विजयी जुलुसमा सबै उमेर समूहका महिला तथा पुरुषहरुको उल्लेख्य सहभागीता थियो ।
ट्रफी परेडका लागि बिहीबारै जनकपुर आइपुगेका खेलाडीहरुले जानकी मन्दिरसहित जनकपुरधाम परिक्रमा गरेको छ ।
शनिबार महोत्तरी, सर्लाही र रौतहटमा परेड गरिनेछ । आइतबार बारा र पर्सामा गरिसकेपछि सोमबार सिरहा र सप्तरीमा घुमेर ट्रफी परेड सम्पन्न हुने जनाइएको छ ।
गत शनिबार सम्पन्न भएको लीगको फाइनलमा सुदुरपश्चिम रोयल्सविरुद्ध सानदार जीत हासिल गर्दै जनकपुर बोल्ट्सले प्रथम एनपिएल च्याम्पियन घोषित भएको थियो ।