ओली निर्णयले संकटमा पर्दै एमाले
जनकपुरधाम । विगतमा पनि सत्ताको उन्मादमा संविधान विपरित कर्म गरेको अभियोग झेलेका एमाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो निर्णयले पार्टीलाई नै संकटमा पारेको टिप्पनी नेताहरुले गर्न थालेका छन् ।
पछिल्लो पार्टी महाधिवेशनमा आफुलाई नेतृत्वमा पुग्न चुनौति दिने तत्कालिन उपाध्यक्ष भिम रावललाई निष्क्रिय बनाउँदै संगठनबाटै निकालेपछि ओलीको आलोचना एमालेभित्रै बढेको हो । रावलमात्रै होइन पार्टी स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई निलम्बन गरेपछि ओली नेतृत्वले एमालेमा तानाशाह लाद्न खोजेको आरोप लाग्न थालेको छ ।
एमालेका लागि पाँच दशकसम्म निरन्तर क्रियाशिल रहेका रावलले ओलीलाई सत्तालोलुप नेताको संज्ञा दिएका छन् । सत्तामा आफु टिकिरहन ओलीले देश र जनताको हितलाई कुनै वास्ता नगरेको आरोप रावलको हो ।
एमालेका पूर्व उपाध्यक्षसमेत रहेका रावलले ओली नेतृत्वको सरकार विरुद्ध जनआन्दोलनकै आह्वान गरेका छन् । उनले जनविरोधी सरकारको संज्ञा दिँदै वर्तमान सरकारको विरोधमा आन्दोलन सुरु भए आफु पनि सक्रिय सहभागी हुने बताएका छन् ।
पार्टी स्थायी समिति सदस्य पाण्डेले कारबाहीको नाममा आफुलाई पार्टीले छुट्टी दिएको प्रतिक्रिया दिँदै यो अवधिलाई रचनात्मक काममा उपयोग गर्ने बताएकी छिन् ।
केन्द्रीय सदस्य तिम्सेनाले हिजोका दिनमा पञ्चायत विरुद्ध संघर्ष गरेर आएको एमालेभित्रै आज पञ्चायती शैलीको अभ्यास हुनु दुर्भाग्य भएको प्रतिक्रिया दिएकी छिन् ।
ओलीको शासन शैली स्वीकार्न नसकेरै विगतमा लामो समयसम्म एमालेको नेतृत्व सम्हालेका माधव नेपाल लगायतका नेताहरु पार्टी फुटाएर गए । वामदेव गौतम अहिले पनि निष्क्रिय छन् । भिम रावल त्यसै संघर्षमा उत्रिने चेतावनी दिइसके ।
यी सबै असन्तुष्टी र विद्रोहको कारण बनेका ओलीको बोलीले एमालेलाई निरन्तर क्षतिमात्रै पुर्याउने काम भइरहेको आवाज कार्यकर्तास्तरमा उठ्न थालेको सुन्न सकिन्छ ।