तरकारीको विषादीमात्रा जाँच्न ढल्केवरमा प्रयोगशाला
जनकपुरधाम । कहाँको कुन तरकारीमा विषादीको मात्रा कति रहेको छ भन्ने जाँच गर्न धनुषाको ढल्केवरमा प्रयोगशाला स्थापना भएको छ ।
संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ढल्केवरस्थित कृषि उपज बजारमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइ स्थापना गरेको हो ।
केन्द्रीय प्रयोगशालाको सहयोगमा ४० लाख रुपैयाँ लागतमा उक्त प्रयोगशाला निर्माण गरिएको हो । बुधबार जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल र केन्द्रीय प्रयोगशालाका प्रमुख शान्ता कार्कीले जानकारी दिए ।
जिल्लाका विभिन्न स्थान तथा छिमेकी जिल्लाहरुबाट बिक्रीका लागि ल्याइने तरकारी तथा फलफुलमा विषादीको मात्रा जाँच गर्न यो प्रयोगशालाको उपयोग हुने कार्कीले जानकारी दिए ।
३५ प्रतिशतभन्दा कम विषादी प्रयोग भएको रहेछ भने उक्त तरकारी खानयोग्य हुन्छ । ३५ देखि ४५ प्रतिशतसम्म विषादी भएमा केही समयको अन्तरालमा खान सकिन्छ । तर, ४५ प्रतिशतभन्दा बढी मात्रामा विषादीको प्रयोग देखिएमा खानयोग्य मान्न नसकिने, अखाद्य वस्तुको रुपमा लिनुपर्ने कार्कीले जानकारी दिए ।