रोजगारका लागि थाइल्याण्ड जानुअघि सचेत हुन आवश्यक

जनकपुरधाम । हिजोआज थाइल्याण्डको बैंकक र याङ्गुनमा नेपाली कामदारलाई आकर्षित गर्न अनेक विज्ञापनहरु सामाजिक संजालमा हेर्न सकिन्छ । तर, ती विज्ञापनहरुमा उल्लेख भएजस्तो यथार्थमा नरहेको भन्ने विषयमा सचेत रहन आवश्यक छ ।

परराष्ट्र मन्त्रालयले यस्तै ठगीबाट नेपाली नागरिकलाई जोगाउन सोमबार यात्रा सम्बन्धी सूचना (ट्राभल एडभाइजरी) जारी गरेको छ ।

थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक तलब र सुविधा दिने प्रलोभनहरु देखाइ नेपालमा रहेका तथा वैदेशिक रोजगारको सिलसिलमा दुवइ लगायत मुलुकमा रहेका नागरिकलाई पठाएर अवैध काममा लगाउने गिरोह सक्रिय भइरहेको छ । यस्ता पीडितहरुको तर्फबाट सम्बन्धित निकायमा उजुरी दिने क्रम बढेपछि नेपाल सरकारले नागरिकलाई सचेत गराउन एडभाइजरी जारी गरेको हो ।

मानव बेचविखन एवम् अन्य अपराधिक गतिविधिमा संलग्न गिरोहहरुले नेपाली नागरिकहरुलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यहरुमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१५ घण्टासम्म काममा लगाएर श्रम शोषण गर्ने, चरम यातना दिने र तलब नदिने जस्ता समस्याहरुबाट पीडितको गुनासो सुनिदैछ ।

समस्यामा परेकाहरुले उद्धारका लागि नेपाली राजदुतावास याङ्गुन र बैंककमा आवेदन दिने क्रम निकै बढेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सामाजिक संजालमा देखिने रोजगारी सम्बन्धी नक्कली विज्ञापनको भ्रममा नपर्न, वैदेशिक रोजगारीको प्रयोजनमा जानका लागि भिजिट भिसाको प्रयोग नगर्न तथा रोजगारीको प्रस्ताव स्वीकार गर्नु अघि कम्पनी र रोजगारदाताको वारेमा पर्याप्त जानकारी लिन सरोकारवाला नागरिकहरुलाई सचेत गराएको छ ।

Facebook Comments Box