जनकपुरको च्याम्पियन यात्राका पाँच नायक

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्दै शानदार फिनिस गरेको छ । शनिबार भएको फाइनलमा जनकरले सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेको हो ।

सुरुवाती चार खेलमा जित त्यसपछि सुदूरले नै लगाएको अपराजित यात्राको ब्रेक अनि पुनरागमन गर्दै फाइनलसम्म पुगेको जनकपुरले सुदूर विरुद्ध नै दुई हारको बदला लिएर उपाधि जितेको हो ।

जनकपुरको च्याम्पियन यात्रामा ट्यालेन्ट हन्टबाट आएका विशाल सुस्लिङबाहेक सबै खेलाडीले खेल्ने अवसर पाए । त्यसमा ललित राजवंशी, आसिफ शेख, किशोर महतो र शुभ कंसाकारले सबै १० खेल खेले ।

जनकपुरलाई च्याम्पियन बनाउन मैदानभित्र र बाहिर खेलाडी प्रशिक्षक म्यानेजमेन्ट सबैको योगदान रह्यो । तर विशेषगरी यो यात्रामा केही यस्ता पात्र थिए जसले जनकपुरलाई च्याम्पियन बनाउन अझ धेरै भूमिका खेले ।

पुबुदु दासानायके : रणनीतिकार

मैदानभित्र खेलाडीले खेल्छन् । तर मैदान बाहिर पनि धेरै रणनीति बनाउने गरिन्छ । टिम सेलेक्सनदेखि ट्रेनिङ र प्लेइङ ११ छान्ने सबै खालको काममा प्रशिक्षकको भूमिका हुन्छ । कसलाई कुन जिम्मेवारी दिने कसरी खेलाउने र विपक्षी खेलाडी विरुद्धको रणनीति बारे जानकार गराउने काम प्रशिक्षकको हुन्छ ।

जनकपुरका मुख्य प्रशिक्षक पुबुदु दासानायके त्यसमा सफल भए । नेपाली राष्ट्रिय टिमको दुई पटक प्रशिक्षण सम्हालिसकेका यसअघि पनि नेपालमा आएर फ्रेन्चाइज टिम हेरिसकेका र नेपाली विदेशी सबै खेलाडीबारे जानकार पुबुदलाई रणनीति बनाउन पनि सहज थियो र त्यसमा उनी सफल पनि भए ।

ललित राजवंशी : विकेट टेकर

ललित राजवंशी स्पीनर हुन् । उनको काम विपक्षीलाई कम रन दिने अनि विकेट झार्ने हो । जुन काम उनले गरेर देखाए ।

जनकपुरलाई च्याम्पियन बनाउने क्रममा उनी संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । ललितसँगै सुदूरपश्चिमका स्कट कुगेलेइनले पनि समान १७ विकेट लिएका थिए ।

विशेषगरी आवश्यक परेको बेला कप्तानले उनै ललितलाई बल थमाउँछन् र उनी विकेट दिन्छन् । अझ पावरप्लेमै पनि उनले बलिङ गर्दै आएका छन् । एनपीएलमा पनि उनले नयाँ बलका साथ बलिङ गरे । विपक्षीको रन गति रोके अनि टिमलाई चाहिएको बेला विकेट लिए ।

उनी जनकपुरको मुख्य विकेटटेकरको रुपमा भए । त्यसैले त उनी बेस्ट बलर नै बने । खासमा च्याम्पियन टिमका सदस्य उनी उत्कृष्ट नेपाली खेलाडी र प्लेअर अफ दि सिरिजकै हकदार पनि थिए । तर सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरी उत्कृष्ट नेपाली खेलाडी हुँदा ललित बेस्ट बलर बन्दै मोटरबाइक प्राप्त गरे । खेलपछि जनकपुरका मुख्य प्रशिक्षक पुबुदले पनि आफ्नो लागि ललित नै बेस्ट प्लेअर भएको प्रतिक्रिया दिए ।

जिमी नीशम : अलराउण्डर

जिमी नीशमको नाम नसुन्ने को होला क्रिकेट जगतमा । नेपाली क्रिकेट समर्थकहरू पनि उनको प्यान थिए । अझ नेपालमै आएर नीशमले फ्रेन्चाइज क्रिकेट खेलेपछि त उनका समर्थकहरू अझ थपिए होलान्  ।

जनकपुरको च्याम्पियन यात्रामा कुनै एक खेलाडीको नाम अगाडि आउँछ भने ति उनै नीशम हुन् । विश्व क्रिकेटमै उत्कृष्ट अलराउण्डर टी२० का लागि सुहाउने खेलाडी अनि विश्वकप खेलिसकका र आईपीएल पनि खेलिसकेका यी नीशमसँग एउटै टिममा खेल्न पाउनु नेपाली खेलाडीको लागि पनि राम्रो हो ।

उनले पनि आफ्नो नाम अनुसाको काम गरेर देखाए । जनकपुरको ब्याटिङ जब धर्मराउँथ्यो उनै नीशम आएर सम्हाल्थे अनि जितको आधार तयार गर्थे । पराजित भएको खेलमा पनि उनको प्रदर्शन उत्कृष्ट थियो । उनी मिडल अर्डरमा जहाँ पनि ब्याटिङ गर्न सक्षम छन् भने आवश्यक परेको बेला नयाँ बल देखि डेथ ओभरसम्म पनि बलिङ गर्ने गर्छन् ।

जनकपुरलाई उपाधि दिलाउन उनले अलराउण्ड प्रदर्शन गरे । साथै लिगभर सबैभन्दा राम्रो स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले ९ खेलमा एक अर्धशतक सहित २४७ रन बनाउनुका साथै ७ विकेट पनि लिए । अनि इनर्जेटिक प्लेअरको अवार्डसहित नगद २ लाख पनि पाए । उनले एनपीएलको सबैभन्दा छिटो अर्धशतक पनि बनाएका थिए । उनले चितवन राइनोज विरुद्ड्ढ १८ बलमै अर्धशतक बनाएका थिए । जसमा उनले ४ चौका ५ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

लाहिरु मिलान्था : सर्वाधिक रनकर्ता

लाहिरु मिलान्था । एनपीएलका सर्वाधिक रन बनाउने खेलाडी । अनि जनकपुरलाई च्याम्पियन बनाउन फाइनलका नायक । उनै ८७ रन मदतमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको थियो । पहिलो खेलमै विराटनगरविरूद्ध अविजित ७५ रन बनाएका उनले आवश्यक परेका बेला म्याच विनिङ प्रदर्शन गरे । फाइनलमा पनि अर्धशतक प्रहार गरे । उनले दुई अर्धशतकसहित सर्वाधिक २९३ रन बनाए ।

यसअघि २०२२ मा लुम्बिनी अल स्टार्सलाई नेपाल टी२० लिगको उपाधि जिताउन पनि उत्कृष्ट प्रदर्शन गर्दै उनले ३५३ रन बनाएका थिए । यस पटक पनि उनले त्यो लय कायम राख्दै कीर्तिपुर मैदानमा खेलिसकेको अनुभव देखाए ।

अनिल र आसिफ : लिडर

अनिल साह र आसिफ शेख जनकपुर बोल्ट्सका दुई लिडर हुन् । सुरुमा मार्की खेलाडी घोषणा हुँदा आसिफ जनकपुर बोल्ट्सको भागमा परे । अर्थात् आफ्नै क्षेत्रको टिममा परे । अनि यही क्षेत्रका अनिल साह पनि अक्सनबाट जनकपुरकै टिममा अनुबन्ध भए ।

राष्ट्रिय टिमका पछिल्ला खेलेमा सँगै ओपनिङ गरेका यो जोडी एनपीएलमा पनि एकै टिममा परे । आसिफ मार्की भएपनि जनकपुरले कप्तान अनिल साहलाई बनायो । आसिफले यसअघि उमेर समूहको टिमको कप्तानी गरेपनि अनिलका लागि कप्तानी पहिलो पटक थियो । जो कप्तान भएपनि दुवैले मैदानमा मिलेर टिमलाई अघि बढाए ।

लिग चरणका ७ खेलसम्म अनिलले कप्तानी गरे । चितवनविरूद्धको अन्तिम खेलमा उनको हातमा चोट लागेपछि उनले प्लेअफका तीनवटै खेल गुमाए । तर टिमको ट्रेनिङ देखि सबैमा उनको संलग्नता थियो । अनि प्लेअफमा फाइनलसहित तीन खेलमा आसिफ शेखले कप्तानी गरे । आसिफकै कप्तानीमा जनकपुरले फाइनलमा सुदूरपश्चिमलाई हराएर उपाधि जित्यो ।

ट्रफी लिने बेला यी दुई खेलाडी अनिल र आसिफ एकसाथ स्टेजमा गएर ट्रफी ग्रहण गरे । दुवै लिडरको रुपमा देखिए । भलै मैदानमा दुवैले यसपटक धेरै रन बनाउन सकेनन् । आसिफले १० खेलमा १६२ रन बनाए । उनको उच्च स्कोर ३६ थियो । अनिले एक अर्धशतक प्रहार गर्दै ७ खेलमा १३२ रन बनाए । अनिले कर्णाली विरुद्ध बनाएको अविजित ६२ रन नै उच्च स्कोर थियो । (अनलाइनखबर)

Facebook Comments Box