मेयरको कर्तुतविरुद्ध बोल्नेलाई बैठकमा प्रतिबन्ध

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा मेयरको गलत क्रियाकलापको विरोध गर्ने उपमेयर तथा वडा अध्यक्षहरुलाई कार्यपालिका बैठकमा प्रतिबन्ध गरिएको छ ।

बिहीबार बसेको कार्यपालिका बैठकमा मेयर कारीराम यादवले उपमेयर रहिमा खातुन र वडा अध्यक्षहरु ९ नम्बरका मनिष राय तथा ११ का सरोज यादवलाई प्रतिबन्ध गरेको बुझिएको छ ।

नगरपालिकाको बजेट दुरुपयोग गरेको भन्दै हिसाबकिताब सार्वजनिक गर्न माग गरेकै विषयलाई आधार बनाएर आफुहरुलाई बैठकमा प्रतिबन्ध लगाएको उपमेयर खातुन तथा वडा अध्यक्षहरु राय र यादवले न्यूजआजलाई जानकारी दिए ।

यस अघि आफुहरुको सहमति बिनै कानुनलाई धज्जी उडाएर मनपर्दी गरेको अभियोग लगाउँदै खातुन, राय र यादवले मेयर विरुद्ध अदालतमा मुद्दा नै दर्ता गराएका छन् । उक्त मुद्दा फिर्ता लिन बारम्बार दबाव दिँदै आएका मेयर कारी यादवले मुद्दा फिर्ता नलिए बैठकमै सहभागी हुन नदिने निर्णय लिएको देखियो ।

११ नम्बरका वडा अध्यक्ष यादव कामको सिलसिलामा काठमाडौंमा छन् । नगरमै रहेकी उपमेयर खातुन र ९ नम्बरका वडा अध्यक्ष रायले आफुहरुलाई औपचारिक जानकारी नगराइएपनि अनौपचारिक जानकारीकै भरमा बैठकमा उपस्थित हुन खोज्दा बैठक कक्षको ढोकामा मेयरले परिचालन गरेको नगर प्रहरीको टोलीले रोकेको थियो ।

उनीहरुले मेयर कारीको आदेश भन्दै उपमेयर खातुन र वडा अध्यक्ष रायलाई बैठक कक्षमा जान दिएनन् । उपमेयर खातुन र वडा अध्यक्षद्वयले कानुन विपरित प्रस्तुत हुने मेयर विरुद्ध अन्तिम क्षणसम्म लड्न तयार रहेको बताएका छन् ।

‘कार्यकालको अन्तिम क्षणसम्म लड्नुपरे पनि लड्छौं तर, जनताको अहितमा र कानुन विपरित मेयरको करकापमा कुनै काम गर्न तयार छैनौं’ वडा अध्यक्ष यादवले न्यूजआजसँग भने ।

उपमेयर खातुनले पनि खुलेयाम कानुन उलंघन गर्ने मेयरलाई खबरदारी गरेकै आधारमा बैठकमै प्रतिबन्ध लगाउने हर्कत सहेर नबस्ने बताइन् । उनले कानुनको सहारा लिएर कानुन विरुद्धको हर्कत प्रदर्शन गर्ने मेयर कारी विरुद्ध लडिरहने जिकिर गरिन् ।

Facebook Comments Box