पीडितको पक्षमा छैन प्रहरी

जनकपुरधाम । पेशाले लेखापढी व्यवसायी हुन्, रामेश्वर पूर्वे । धनुषाको मिथिलाविहारी नगरपालिका बस्ने पूर्वेले अदालतमै लेखापढी व्यवसाय गर्छन् ।

उनले सयौं पीडितलाई न्यायका लागि कानुनी लेखापढी गरिदिएर सहजीकरण गरेका छन् । तर, त्यहीँ अदालत परिसरमा आफैमाथि हातपात र दुरव्यवहारको सिकार भएपछि उनले न्यायका लागि चौतर्फी गुहार लगाउँदा पनि निरिह सावित भइरहेका छन् ।

सन्दर्भ के हो भने पूर्वेले विगतमा गाउँ समाजकै एक परिवारलाई आवश्यक परेको बेला केही रकम ऋणस्वरुप दिएका थिए । उनले उक्त रकम दिने क्रममा परम्परागत रुपमा चलिआएको कानुनी व्यवहार अन्तरगत कपाली तमसुक बनाएका थिए ।

भाका नाघेपछि पूर्वेले आफ्नो पैसा फिर्ता माग्न थाले । केही महिनासम्म उनीसँग पैसा नभएको अवस्थालाई पनि बुझेर आज न भोली फर्कादिन्छन् भनेर आशमा बसे । सोहीबीच मिटब्याजी पीडितहरुको आन्दोलन भयो ।

आफ्नो ऋणि पनि उक्त आन्दोलनमा लागेको देखेपछि पूर्वे अदालती प्रक्रियामा गए । अदालतले उचित ब्याजसहितको रकम फिर्ता गर्न आदेश गरिदियो । ऋणिले अदालतको उक्त आदेशलाई वास्तै गरेन ।

बाध्य भएर अदालतले ती ऋणिलाई कैद सजाय तोक्यो । ऋणिलाई कैद सजाय भुक्तान गर्दा जेलमा खानबस्न धनीले नै व्यहोर्नुपर्ने कानुनी प्रावधान छ । उक्त रकम बुझाउन गएको बेला पूर्वेउपर अदालत परिसरमै ऋणि पक्षले हातपात र हुलहुज्जत गर्यो ।

आफैले दिएको रकम फिर्ता माग गर्दा न्यायालय परिसरमा आफ्नै समाजका व्यक्तिहरु जसलाई दुःख परेको बेला सहयोग गरेका थिए, उनीहरुबाटै अन्याय हुँदा पूर्वेले गाउँसमाजका व्यक्तिहरुलाई भेला गरे । वडा अध्यक्ष सहित समाजका व्यक्तिहरुले अदालत परिसरमा गलत भयो, अन्याय गर्ने विरुद्ध प्रहरी कारबाही हुनुपर्छ भन्ने निष्कर्षमा पुगेर जिल्ला प्रहरी कार्यालयमा उजुरीसहित वडा अध्यक्ष स्वयम् पनि डेलिगेशन गए । तर, प्रहरीले उनीहरुको समस्यालाई सम्बोधन नै गरिदिएन ।

वडा अध्यक्ष र गाउँका सामाजिक अगुवाहरु समेतलाई लिएर प्रहरी कार्यालय पुगेका पीडितले न्याय नपाउँदै घर फर्किनुपरेको पनि चार दिन बितिसक्यो । आजसम्म प्रहरीले पीडितको उजुरी दर्ता गर्न तयार नभएको पूर्वेले न्यूजआजलाई दुखेसो सुनाए ।

Facebook Comments Box