आज पुस १ अर्थात् कालो दिन
नेपालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री सहित लोकतन्त्रवादी नेताहरुलाई जेलमा कैद गरी निरंकुश पञ्चायती व्यवस्था लागु भएको दिन हो पुस १ । वि.सं. २०१७ सालमा तत्कालिन राजा महेन्द्र शाहले मुलुकका प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री विपि कोइरालालाई आजैका दिन (पुस १ गते) बन्दी बनाएर बहुदलीय राजनीतिक व्यवस्थाको अन्त्य गरेका थिए ।
नेपाली कांग्रेसका युवा संगठन तरुण दलको कार्यक्रममा सहभागी भइरहेकै बेला तत्कालिन प्रधानमन्त्री कोइराला लगायत लोकतन्त्रका लागि अगुवाको भूमिका निर्वाह गरिरहेका नेताहरुलाई तत्कालिन शाही सेनाको बलमा महेन्द्रले पक्राउ गरी जेलभित्र कैद गरेका थिए ।
जनविरोधी राणा शासनको अन्त्यगरी मुलुकमा लोकतन्त्रान्तिक शासन व्यवस्थाको अनुभूति दिलाउन प्रथम जननिर्वाचन भएको थियो । सरकारले जनताका अधिकार घरदैलोमा पुर्याउने बाटो बनाउन सुरु नै गरेका थिए । राजा महेन्द्रले पुनः लोकतन्त्रवादी नेताहरुलाई प्रजातन्त्रसहित जेलभित्र कैद गरिदिए र २०१७ पुस १ गतेदेखि नै पञ्चायती व्यवस्था लागु हुन पुगेको थियो ।
त्यसैले पुस १ गते लोकतन्त्रवादीहरुका लागि कालो दिनको रुपमा कायम हुन पुग्यो । आजको दिन २०१७ पुस १ को त्यो घटना सम्झिन आवश्यक छ ।