आज सार्वजनिक विदा किन थाहा छ ?

जनकपुरधाम । किरात समुदायले मनाउने उधौली पर्वको अवसरमा नेपाल सरकारले आज (आइतबार) देशभर सार्वजनिक विदा दिएको छ ।

मार्गशीर्ष शुक्ल पुर्णिमाको दिन मनाउने उधौली पर्व किरात समुदायमा पनि फरक फरक नामले मनाउँछन् । याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुले चासोक तङनाम मनाउँछन् ।

किरात समुदायमा रहेका विभिन्न जातजातिले फरक नामले मनाएपनि आजको दिन मनाउने यी सबै उधौली पर्व नै हो ।
खेतमा अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, उक्त नयाँ अन्न खानका लागि देवतासँग अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनको रुपमा किरात समुदायले उधौली पर्व मनाउँछन् ।

किरात समुदायले बाली लगाउने बेला उभौली र भित्र्याउने बेलामा उधौली पर्व मनाउँछन् ।

उधौली पर्वमा भूमिपूजा गर्दै किरात महिला तथा पुरुषले जातीय भेषभुषामा सजिएर विभिन्न सांस्कृतिक नाचगान गरी पर्व मनाउँछन् । पूजापछि उनीहरुले आ आफ्नो परम्परा अनुसार साकेला सिली, च्याम्ब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ ।

वैशाख शुक्ल पूर्णिमाका दिन उभौली पर्व मनाएका किरात समुदायले आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन उधौली पर्व मनाउँदैछन् । यो पर्वलाई पर्यावरण अनुकुलता अनुरुपको संस्कृतिको रुपमा पनि लिन सकिन्छ ।

गर्मी लागेपछि उभौली मनाएर खेती लगाउने, लेकमा जाने किरात समुदाय जाडो आएपछि उधौली मनाउँदै अन्न भित्र्याउने र तल झर्ने चलन छ ।

Facebook Comments Box