गढीमाईबाट फर्किरहेका ८ जनाको मृत्यु
जनकपुरधाम । बारा जिल्लाको बरियारपुरस्थित गढीमाई मन्दिर दर्शन गरी घर फर्किरहेको क्रममा स्कोर्पियो (जीप) दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
पुर्व–पश्चिम राजमार्ग अन्तरगत रौतहटको चपुर (चन्द्रपुर) नगरपालिकास्थित धन्सार खोला नजिकै आज (मंगलबार) बिहान दुर्घटना भएको हो । सिरहाको अर्नमाबाट मेला भर्न बारा पुगेको बा १६ च ३१६२ नम्बरको स्कोर्पियो मेलाबाट फर्किने क्रममा सडक छेउमा रहेको रुखमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिरहा जिल्लास्थित अर्नमा गाउँपालिका ३ घर भएका चालक श्रीकुमार यादव, स्कोर्पियोमा सवार दर्शनार्थीहरु ६० वर्षीया लरुबतीदेवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महँगीदेवी महरा, ६२ वर्षीय फुलमन्तीदेवी महरा, ६० वर्षीया रामकुमारी देवी महरा र ३० वर्षीया सकुन्तलादेवी महराको मृत्यु भएको हो ।
दुर्घटनामा ३० वर्षीया राधा महरा, २ वर्षीय आर्यन महरा, २५ वर्षीय देवकुमारी महरा, ७ वर्षीय ऋतिक महरा र ६० वर्षीया कन्यादेवी महरा घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगंज लगिएको प्रहरीले जनाएको छ ।
रातभर मेला घुमेर बिहान हिँडेको सवारी चालकले गाडी चलाउँदाचलाउँदै निदाएको कारण दुर्घटना भएको प्रहरी अनुमान छ ।