जनकपुरमा मोटरसाइकल दुर्घटना, पतिको मृत्यु पत्नी घाइते
जनकपुरधाम । धनुषाको थुमौनामा मोटरसाइकल दुर्घटना हुँदा पतिको मृत्यु भएको छ भने पत्नी घाइते भएकी छिन् ।
जनकपुरधाम – धनुषाधाम सडक खण्ड अन्तर्गत थुमौनामा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा सबैला नगरपालिका २ बस्ने करिब ४५ वर्षीय रामनारायण साहको मृत्यु भएको हो । उनकी पत्नी उषा घाइते भएकी छिन् । टाउकोमा चोट लागेको उषाको जनकपुर प्रादेशिक अस्पतालमा उपचारपछि घर लगिएको छ । मृतक साह सबैला उद्योग वाणिज्य संघको सदस्य तथा सबैलामै व्यवसाय सञ्चालन गरेका गोकुल हार्डवेयरका सञ्चालक थिए ।
जनकपुरधामबाट रामजानकी विवाह महोत्सवमा सहभागी भएर घर फर्किने क्रममा साह सवार ज ८ प ३४७७ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ज ११ प ६८५६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
साहलाई ठक्कर दिने सबैला नगरपालिका १ बस्ने १८ वर्षीय सिदार्थ साह पक्राउ परेका छन् । उनलाई सवारी ऐन बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।