आज श्री रामजानकी विवाह पञ्चमी महोत्सव
जनकपुरधाम । त्रेताकालिन रामायणमा वर्णित जनक नन्दनी जानकी एवम् मर्यादा पुरुषोत्तम श्री रामबीच भएको वैवाहिक कार्यक्रमको स्मरण गर्दै हरेक वर्ष आयोजना हुँदै आएको सीता राम विवाह पञ्चमी महोत्सव आज धुमधामसाथ मनाइँदैछ ।
विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरलाई दुल्ही झैं सिंगारिएको छ । रंगभूमि मैदानमा भारतको उत्तर प्रदेशस्थित हस्तिनापुरका महन्त योगी अंकितनाथले महोत्सवमा सहभागी हुन आउने श्रद्धालुहरुका लागि दुई दिन अगावैदेखि विशाल भण्डारा आयोजना गरिएको छ ।
श्री रामजानकी समाज सेवा समिति अन्तर्राष्ट्रिय परिवार, जनकपुरधाम उपमहानगरपालिका, इस्कोन, तेली समाज लगायत विभिन्न जातीय तथा सामाजिक संघ, संगठनहरुले निःशुल्क भोजन, खानेपानी, स्वास्थ्य सेवा लगायत मानव सेवा केन्द्रित कार्यहरुमा अग्रसरता देखाइरहेका छन् ।
जनकपुरधामका स्थानीय व्यवसायीहरुले आ आफ्नो पसल, प्रतिष्ठान अगाडी पनि श्रद्धालुहरुलाई सेवा दिन विभिन्न स्टल राखेर तत्परता देखाइरहेका छन् । भारतको उत्तर प्रदेशस्थित अयोध्या लगायत विभिन्न स्थानबाट आएका जनती स्वरुप तिर्थालु र नेपालका विभिन्न जिल्लाबाट आएका भक्तजनहरुलाई बास, गाँस र अन्य सेवाका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुसँगै युवा क्लवलगायत सामाजिक संघसंस्थाहरु तल्लिन छन् ।
साताव्यापी सीता राम विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर कार्यक्रम सम्पन्न भएको छ ।
आज (शुक्रबार) भगवान श्री राम र माता जानकीको डोलासहित नगर परिक्रमागरी अपरान्ह रंगभूमि मैदान बाह्रविघामा स्वयम्वर कार्यक्रम आयोजना गरिनेछ ।
स्वयम्वरपछि साँझ मैथिली परम्परा अनुसार वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरको प्रांगनमा मण्डप बनाइएको छ । त्यहाँ जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले राजा जनक र राम मन्दिरका महन्त राम गिरीले राजा दशरथको भूमिका निर्वाह गर्नेछन् ।
भोली (शनिबार) राम कलेवा अर्थात् विदाइसँगै साताव्यापी विवाह पञ्चमी महोत्सव औपचारिक रुपमा सम्पन्न हुनेछ ।