बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
जनकपुरधाम । मंसिर १६ गते सम्पन्न भएको स्थानीय तहको उपनिर्वाचन अन्तरगत मधेश प्रदेशका विभिन्न चार जिल्लाका छ पालिकामा सात जना वडा अध्यक्षका लागि निर्वाचन भयो ।
सात जना वडा अध्यक्ष मध्ये नेपाली कांग्रेसले दुई, जसपा नेपालले दुई, एमालेले एक, माओवादीले एक र एकीकृत समाजवादी पार्टीले एक सिट जित्यो ।
सात मध्ये दुई वडामा जितेको नेपाली कांग्रेस तीनवटा वडामा निकटतम प्रतिद्वन्दी साबित भयो भने बाँकी दुई वटाको प्रतिस्पर्धामा तेस्रो स्थानमा सिमित रहयो ।
नेपाली कांग्रेसले रौतहटको ईशनाथ नगरपालिका ७ र राजपुर नगरपालिका ६ मा जितेको छ । धनुषाको धनुषाधाम नगरपालिका १, सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ मा दोस्रो स्थानमा सिमित हुन पुग्यो भने महोत्तरीको रामगोपालपुर २ र रौतहटको गढीमाई नगरपालिका ८ मा तेस्रो स्थानमा पुग्यो ।
दुई वडा जितेको जसपा नेपाल एउटा वडामा तेस्रो र अन्य दुई वटा वडामा चौथो स्थान बनाउन सफल रहयो । अर्को एक वडामा जम्मा चार मतमा सिमित हुन पुगेको जसपा नेपालले रौतहटको राजपुर नगरपालिकामा उम्मेदवारै खडा नगरेको देखियो ।
महोत्तरीको रामगोपालपुर नगरपालिका २ जितेको एमाले रौतहटको गढीमाई नगरपालिका ८ र ईशनाथ नगरपालिका ७ मा दोस्रो स्थान ल्याउन सफल भयो । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र रौतहटको राजपुर नगरपालिका ६ मा तेस्रो स्थान कायम गर्न सफल एमाले धनुषाधाम १ र डाक्नेश्वरी ४ मा चौथो स्थानमा पुग्यो ।
धनुषाधाम १ मा जितेको माओवादी केन्द्र रामगोपालपुर २ र राजपुर ६ मा निकटतम प्रतिद्वन्दी भएपनि अन्य वडाहरुमा निकै कमजोर देखियो । डाक्नेश्वरी १ मा जम्मा २९ मत पाएको माओवादीले डाक्नेश्वरी ४ मा ९ मत र ईशनाथ नगरपालिका ७ मा २४ मत पाएको छ । गढीमाई नगरपालिका ८ मा त माओवादीले उम्मेदवार पनि खडा गरेको देखिएन ।
गढीमाई नगरपालिका ८ मा वडा अध्यक्ष जितेको एकीकृत समाजवादी पार्टीले ईशनाथ नगरपालिका ७ बाहेक अन्यत्र प्रतिस्पर्धामा पनि देखिएको छैन ।