संयुक्त राष्ट्र संघमा मधेशीको मुद्दा

जनकपुरधाम । संयुक्त राष्ट्र संघमा मधेशीको मुद्दा उठान गरिएको छ । संयुक्त राष्ट्र संघले आयोजना गरेको अल्प संख्यकको मुद्दा विषयक १७ औं सत्रमा मधेशी समुदायको विषयलाई उठाइएको हो ।
मधेशी एकता समाजका अन्तर्राष्ट्रिय संयोजक डा. रविन्द्र कुमार यादवले स्वीट्जरल्यान्डमा आयोजित राष्ट्र संघको मञ्चमा मधेशी समुदायले भोगिरहेको विभेद, राज्यको अंगहरुमा न्यायोचित प्रतिनिधित्व हुन नसकिरहेको विषयदेखि वहिष्कार लगायत सवालमा डा. यादवले मुद्दा उठाएका हुन् ।
मधेशी एकता समाजको प्रतिनिधित्व गर्दै उनले नेपालमा मधेशीले एक तिहाई जनसंख्या ओगटेपनि राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा पछाडि पारिएको उल्लेख गरे ।
विभेदपूर्ण र कठोर नागरिकता सम्बन्धी कानुनले मधेशी समुदायका धेरै नागरिक अहिले पनि राज्यविहिन अवस्थामा रहेको बताउँदै डा. यादवले संविधान र कानुनमा व्यवस्था भएर पनि राज्यको निकायहरुमा समान प्रतिनिधित्व हुन नसक्ने समस्याहरु उजागर गरे ।
संयुक्त राष्ट्र संघले नोभेम्बर २८ र २९ मा अल्पसंख्यक मुद्दामा १७ औं सत्र सञ्चालन गरेको थियो ।
भूमि र जनसंख्याको सन्तुलनको समस्या, शिक्षा र रोजगारीमा असमानता, राज्यका निकायहरुमा मधेशी समुदायको न्यून प्रतिनिधित्व रहेको जस्ता मधेश केन्द्रीत विषयलाई डा. यादवले उठाएका थिए ।
मधेशी समुदायले न्याय, समावेशिता र प्रतिनिधित्व चाहेको कुरा राष्ट्र संघको मञ्चमा यादवले ध्यानाकर्षण गराएका हुन् । उनले विशेष अधिकारका लागि नभई समानता, सम्मान र न्यायका लागि मधेशी समुदायले संघर्ष गरेको उल्लेख गरे ।
नेपालसँगै अन्तर्राष्ट्रिय समुदायले मधेशीहरुले उठाएको मुद्दाको समाधान तर्फ अग्रसरता देखाउनुपर्ने उनको भनाई थियो ।