जन्मदर्ता नहुँदाको पीडाः कानुनमा छ, हातमा छैन

अर्जुन साह
व्यक्तिगत घटना दर्ता भनेको प्रत्येक व्यक्तिको जन्म, मृत्यु विवाह, सम्बन्ध विच्छेद, बसाइँ सराइ लगायतका व्यक्तिगत घटना सम्बन्धित व्यक्तिको स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा दर्ता गर्ने कार्य हो । यसै अनुरुप जन्मदर्ता पनि व्यक्तिगत घटना दर्ताको एउटा प्रकारको रुपमा रहेको छ । जन्मदर्ता कुनै पनि मानिस र राज्य बीच सबै भन्दा पहिलो कानुनी सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण दस्तावेजको रुपमा रहेको छ । यसै दस्तावेजलाई आधारमानी राज्यबाट प्रदान गरिएको सेवा, सुविधा तथा अन्य काम प्रयोजनका लागी महत्वपुर्ण प्रमाणको रुपमा रहेको हुन्छ ।
नेपालको संविधानको धारा ३९ मा बालबालिका सम्बन्धि हक मौलिक हकाधिकारको रुपमा सुनिश्चित गरिएको छ । धारा ३९ मा प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक हुनेछ भनि प्रष्ट व्यवस्था रहेको छ । प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ भनि व्यवस्था रहेको छ ।
यसै समस्या बारे स्थलगत रुपमा मैले सप्तरी जिल्लामा विभिन्न स्थानीय पालिकाहरु, विद्यालय, जिल्ला प्रसाशन कार्यालय, नागरिक समाज, मानव अधिकारकर्मी र दलित मानव अधिकारकर्मीहरुलाई स्वयम् भौतिक रुपमा पुगी भेटि केहि घटनाहरुबारे यस लेख मार्फत जन्मदर्ता सम्बन्धि चुनौतीहरु पाठकहरु सामु ल्याउन प्रयास गरेको छु । यो घटनाहरु यस जन्मदर्ता सम्बन्धि समस्यालाई बुझ्न / बुझाउन प्रतिनिधि पात्रको रुपमा मात्र रहेको छ । यस किसिमका समस्याहरुले गर्दा नेपालमा हालसम्म ७४% बच्चाहरु दर्ता रहेका छन् भने बाँकि २४% बच्चाहरु विभिन्न वाधा अड्चनको कारण अझै पनि दर्ता हुन सकेका छैनन् । साथै सप्तरी जिल्लामा हालसम्म ७६% बच्चाहरु दर्ता रहेका छन् भने बाँकि २४% बच्चाहरु जन्मदर्ता विहिनको अवस्थामा रहेका छन् ।
सप्तरी जिल्ला कंचनपुर नगरपालिका वडा नं. १२ धर्मपुर बस्ने ४० वर्षीय लुखिया सदाका चार सन्तान जन्मदर्ताबिहिन रहेका छन् । लुखियाका श्रीमान् रबि सदाको मृत्यु भई सकेको छ । लुखियाका चार सन्तान क्रमसः २० वर्षीय सतनी सदा, १७ वर्षीय पुष्पा सदा, १५ वर्षीय झगरु सदा र १२ वर्षीय कुसमी सदा जन्मदर्ता विहिन रहेका छन । आमा लुखिया सदाको कुमारी नागरिकता र विवाहदर्ता समेत रहेको छ । राष्ट्रिय परिचयपत्र तथा पंजीकरण ऐन, २०७६ को दफा १८ मा व्यक्तिगत घटनाको सूचना कसरी दिने भन्ने प्रावधान रहेको छ । दफा १८ अन्तर्गत जन्मको सुचना बाबु वा आमाले र निजहरुको अनुपस्थितिमा परिवारको अठार वर्ष उमेर पुगेको व्यक्तिले पनि दिन सक्छ भन्ने स्पष्ट व्यवस्था रहेता पनि लुखिया सदाको नामले ति सन्तानहरु जन्मदर्ता बनाउन सकेका छैनन् ।
जन्मदर्ता नभएकै कारण लुखिया सदाको दुई जना उमेर पुगेका २० वर्षीय सतनी सदा र १७ वर्षीय पुष्पा सदा छोरीहरुले भने उमेर पुगे पनि नागरिकता बनाउन नसकेर हाल अनागरिक भई बस्नु परेको छ । पुष्पा सदा र कुसमी सदा अपांग समेत रहेका छन । तिनीहरु अपांग भत्ता लगायत राज्यबाट पाउने अन्य सेवा सुबिधाबाट समेत बन्चित रहेका छन् । लुखिया सदाको बच्चाहरु विद्यालय पनि जान पाएका छैन । यसै समस्या बारे सम्बन्धित वडा अध्यक्ष ज्यूलाई सोध्दा निजको श्रीमानको नागरिकता र मृत्यु दर्ता प्रमाण–पत्र नभएकै कारण जन्मदर्ता नपाएको भन्ने कुरा गर्नुभयो । जस कारण लुखिया सदाको सबै बालबालिकाहरु हाल नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हकाधिकारबाट वन्चित भई अनाथ झैँ जीवनयापन गर्ने गरेका छन् ।
यसरी जन्मदर्ता सम्बन्धी धेरै समस्या रहेका छन् जस मध्ये यहाँ एउटा परिवारको समस्या प्रतिनिधी पात्रको रुपमा मात्र रहेको छ।साथै यस विषयमा सबै सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्न / गराउन का लागी पहल गर्दछु । हामी कुनै बालबालिकालाई जन्मदर्ता विहिन बनाउनु भनेको निजहरुलाई पहिचानबाट वन्चित गर्नु हो । यस युगमा पहिचान विहिन हुनु भनेको मानिस सासविहिन हुने सरह नै हो ।