जनताले हिसाब खोजेपछि बौलाए सबैलाका मेयर, प्रश्न गर्नेउपर माओवादी आक्रमण

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा आइतबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा मेयरलाई प्रश्न गर्ने न्यूजआजका सम्पादक सुरेश यादव उपर माओवादी कार्यकर्ताले आक्रमण गरेको छ ।

साढे दुई वर्षमा नगरपालिकाको कार्यसम्पादन क्रममा भएका खर्चहरुको हिसाब माग्दै न्यूजआजले केही दिन अघि सार्वजनिक सुनुवाई गरेको थियो । नगरपालिकाले गर्ने सार्वजनिक सुनुवाई पत्रकारले किन गरेको भन्दै माओवादी कार्यकर्ताहरु आइतबार आक्रामक देखिए ।

सबैला नगरपालिकामा कर्मचारी तथा पदाधिकारी भ्रमणको नाउँमा १२ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेपछि मेयर कारीराम यादव नाजवाफ भएका थिए । उनले जवाफै नदिएर कार्यक्रम सम्पन्न गर्न खोजेपछि सम्पादक यादवले दोहोर्याएर प्रश्न गरे । लगत्तै मेयर समर्थित माओवादीका कार्यकर्ताहरु आक्रमणमा उत्रेका थिए ।

माओवादीका कार्यकर्ताहरु दुखी यादव, पल्टा यादव, जितु यादव र राजकुमार यादव लगायत माओवादीका कार्यकर्ताहरुले सम्पादक यादव उपर आक्रमण गरेका थिए ।

उनीहरु आक्रमणमा उत्रिए लगत्तै नजिकै रहेका इलाका प्रहरी कार्यालय सबैलाका इन्सपेक्टर सहितको टोली तथा रघुनाथपुरस्थित सशस्त्र प्रहरी क्याम्पका इन्सपेक्टर सहितको टोलीले सुरक्षा घेरा बनाएर सम्पादक यादवलाई घटनास्थलबाट सुरक्षित बाहिर निकालेका थिए ।

घटनापछि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको सक्रियतामा सम्पादक यादवलाई सुरक्षित रुपमा जनकपुरसम्म पुर्याइएको थियो । घटनावारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने जिल्ला प्रहरी प्रमुख (एसपी) भुवनेश्वर तिवारीले जानकारी दिए ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज