मधेशमा बालविवाहको डरलाग्दो चित्र

सुरेश यादव

जनकपुरधाम । दिगो विकासका लक्ष्य भेट्नेगरी काम गर्न सबै तहका सरकार तथा तिनका अंगहरुले अहोरात्र काम गनुपर्ने आवश्यक्ता छ यतिबेला । तर, मधेशमा बालविवाह न्युनिकरण गर्नै ठूलो चुनौति देखिदै छ ।

नेपाल प्रजनन स्याहार केन्द्र (एनएफसिसि) ले भर्खरै सार्वजनिक गरेको एक अनुसन्धान प्रतिवेदनले मधेशका सबै जिल्लामा बालविवाहको भयावह स्थिति देखाइरहेको छ । कानुनले विवाहको लागि न्यून्तम उमेर २० वर्ष तोकेको छ । जबकी मधेशमा आधाभन्दा बढी महिलाको विवाह त्योभन्दा कमै उमेरमा भइरहेको देखिएको छ ।

एनएफसिसिले मधेशका आठवटै जिल्लामा विवाहित किशोरकिशोरीहरुको लागि परिवार योजना (कामा परियोजना) अगाडि बढाएको छ । उक्त परियोजनाले सप्तरीको छिन्नमस्ता गाउँपालिकामा मात्रै ३७० जना विवाहित किशोरीहरु भेटाएको छ ।

सिरहाको कल्याणपुर नगरपालिकामा पनि ३४० जना विवाहित किशोरी भेटिएको छ । धनुषाको औरही गाउँपालिकामा २१४, महोत्तरीको एकडारा गाउँपालिकामा १८८, सर्लाहीको धनकौल गाउँपालिकामा १८५, रौतहटको इसनाथ नगरपालिकामा ३०८, बाराको आदर्शकोतवाल गाउँपालिकामा ४१४ र पर्साको पकाहा मैनपुर गाउँपालिकामा २०९ जना विवाहित किशोरी भेटिएको परियोजनाका प्रतिनिधि प्रदिप साहले जानकारी दिए ।

कामा परियोजनाले नेपालमा पहिलो पटक विवाहित किशोरीहरु र उनीहरुका श्रीमान तथा परिवारसंग प्रत्यक्ष परामर्श गरी विवाहित उनीहरुका लागि परिवार योजना रुपान्तरण प्याकेज विकास गरेको छ ।

मधेशका जिल्लाहरुमा १५ वर्ष नपुग्दै किशोरीहरुको बिहे हुने र बच्चा जन्माउनुपर्ने जोखिमलाई न्युनिकरण गर्न कामा परियोजनाले सचेतना अभियान अघि बढाएको हो । किशोरावस्थामै हुने गर्भाधारण स्वास्थ्यको दृष्टिकोणले निकै जोखिमयुक्त हुन्छ । यसकै कारण नेपालमा झन्डै १० प्रतिशत मातृ मृत्यु भइरहेको तथ्यांक रहेको छ ।

२० देखि २९ वर्षको गर्भावस्थाको तुलनामा १५ देखि १९ वर्षको गर्भावस्थामा मातृ मृत्युको जोखिम दोब्बर हुन्छ भने १० देखि १४ वर्षको उमेर समूहमा पाँच गुणाले बढी हुन्छ । यस्तो जोखिम न्यूनिकरण गर्न कामाले समुदायमा आधारित विभिन्न प्रकारको सचेतनामुलक क्रियाकलाप सञ्चालन गरिरहेको छ ।

स्थापनाकालदेखि नै स्थानीय, प्रादेशिक तथा संघीय सरकारहरुसंग परामर्श, समन्वय र सहकार्यमा काम गर्दै आएको नेपाल प्रजनन स्याहार केन्द्र (एनएफसिसि) सरकारहरुलाई साथ र सहयोग पुग्नेगरी क्रियाशिल सामाजिक गैरसरकारी संस्था हो ।

Facebook Comments Box