हरिपुर्वाका हाकिम घरबाटै किन्दैछन् ‘स्कर्पियो’
मंलगवा । सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले घरबाटै कार्यालय सञ्चालन गरिरहेका छन् ।
लामो समयदेखि कार्यालयमा हाजिर नभएका साहले मंसिर ६ गते बिहीबार स्कर्पियो खरिदका लागि टेण्डर स्वीकृत गरेको सूचना सम्प्रेषण गरे । जबकी उनी ५ गते बाहेक मंसिर महिनामा कार्यालय पुगेकै छैनन् । कार्यालय नै नपुगी उनले कसरी टेण्डर स्वीकृत गरेको सूचना सम्प्रेषण गरे त ? स्थानीयले प्रश्न गरिरहेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत साहले यसवारे कुनै प्रतिक्रिया दिन नै मानेनन् । नगर प्रमुख विनोद साहले भने प्रमुख प्रशासकीय अधिकृत साहको बचाउ गरिरहेका छन् ।
‘नगरपालिकाको कार्यालयमा सुरक्षा नभएपछि हाकिमसाब (प्रमुख प्रशासकीय अधिकृत) कसरी आओस् त ?’ कार्यालयमै नआएर गाडी खरिद गर्ने टेण्डर स्वीकृत भएको सूचना कसरी सम्प्रेषण भयो भन्ने न्यूजआजको प्रश्नमा मेयर साहले प्रतिप्रश्न गर्छन्, ‘हाकिमसाब कहिले कार्यालयमा आउनुभयो कहिले आउनुभएन त्यो मलाई थाहा छैन । तर, कार्यालयमा बसेर काम गर्ने वातावरण छैन ।’
मेयर साहले स्थानीय युवाहरु सन्तोष यादव र खगेन्द्र यादवहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र प्रशासनका कर्मचारीलाई काम गर्ने वातावरण बिथोलेको आरोप लगाए ।
सन्तोष यादवले भने मेयर साहले आफुलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदबाट हटाउन कानुन विपरित चाल चलेको आरोप लगाए । ‘नगरपालिकाका शिक्षा संयोजक, वडा अध्यक्ष, प्रधानाध्यापक लगायत सरोकारवालाहरुको पूर्ण उपस्थितिमा बसेको अभिभावक भेलाले गठन गरेको विद्यालय व्यवस्थापन समितिलाई मेयरले मान्दिन भन्न मिल्छ ?’ सन्तोषले प्रश्न गरे ।
नगर प्रमुख साह र वडा अध्यक्ष विजय चन्द्रभुषण साहले आफुलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा कायम रहन नदिन कानुन विपरित प्रस्तुत भइरहँदा प्रमुख प्रशासकीय अधिकृत साहले गैरकानुनी रुपमा उनीहरुलाई नै सहयोग गरिरहेको आरोप सन्तोषले लगाए ।
स्थानीयले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत साहद्वयले मिलेर नगरपालिकालाई बन्धक बनाएको आरोप लगाइरहेका छन् । स्थानीय खगेन्द्र यादव भन्छन्, ‘सरसफाई कर्मचारी भर्ना भएका छन्, तलब पनि खान्छन् तर, सफाइको काम कहिल्यै भएको देखिदैन ।’
नगरपालिकामा एउटा गाडी छँदाछँदै अर्को नयाँ गाडी खरिद गरी नगर विकासको रकम दुरुपयोग गरिरहेको उनीहरुको आरोप छ । ‘विलासी गाडी थप्नुभन्दा पिच सडकमा जमेको धुलो बढार्ने व्रुमर खरिद गर्नुपर्ने हो नि !’ उनले भने ।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?