जनकपुरमा कलेज भर्सेज विद्यार्थी आन्दोलन

जनकपुरधाम । छात्रवृति प्राप्त गर्ने विद्यार्थीहरुसँग पनि शुल्क उठाउन पाउने माग राखेर निजी विद्यालयहरुले सोमबारदेखि शिक्षण संस्था बन्द गरेका छन् । त्यस विरुद्ध मंगलबार विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरे ।

निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा आफुहरुको माग सम्बोधन नभएसम्मका लागि भन्दै शिक्षण संस्था बन्द गरेको हो । हिसान, प्याब्सन र एन प्याब्सनले सोमबार बिहान संयुक्त रुपमा सार्वजनिक सूचना जारी गर्दै आफुहरुको मागको सुनुवाई नभएसम्म अनिश्चितकालसम्म विद्यालय बन्द गरेको हो ।

जनकपुरधाम नगर क्षेत्रमा सञ्चालित संस्थागत विद्यालयहरुमा छात्रवृति वितरण व्यवस्थापन समितिले गत भदौ १३ गते एउटा निर्णय गरेको थियो । उक्त निर्णय अनुसार छात्रवृतिका लागि सिफारिस भएका विद्यार्थीहरुबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्क बाहेक अन्य शुल्क लिन पाउने व्यवस्था रहेको संस्थागत विद्यालयहरुको जिकिर छ ।

त्यसको भोलीपल्टै अर्थात् भदौ १४ गते फरक किसिमको निर्णय गरेको भन्दै सो अनुसारको शुल्कमा विद्यार्थीलाई पढाउन नसकिने भन्दै संस्थागत विद्यालयहरुले शिक्षण संस्था बन्द गरी आन्दोलनमा उत्रेको हो ।

यता, विभिन्न संगठनमा आबद्ध विद्यार्थीहरुले मंगलबार जनकपुर बजार क्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गरे । उनीहरुले छात्रवृतिका लागि सिफारिस भएका विद्यार्थीहरुसँग कुनै प्रकारको शुल्क लिन नपाउने र अहिलेसम्म लिएको शुल्क समेत फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज