जनकपुरधामबाट धमाधम भाग्दैछन् व्यावसायी
जनकपुरधाम । दुई महिना अघि जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अगुवा व्यवसायीहरु मत माग्दै हिँड्दा सबैभन्दा बढी सुन्नु परेको मुद्दा नै घरभाडा थियो ।
खासगरी साना व्यवसायीहरुले जनकपुरधाममा व्यापार महँगो भएको र त्यसको मुख्य कारण चर्को घरभाडा भएको उनीहरुको गुनासो थियो ।
सटरको भाडा महँगो तिर्नुपर्ने बाध्यताको कारण सामानको मूल्य बढाउनुपर्ने र बढी मूल्य भनेर जनकपुरका ग्राहक बर्दिबास, महेन्द्रनगर, मिर्चैया, गोलबजार तथा सीमापारीको बजार रोज्न थाले । जनकपुरधामको बजार सुक्न थाल्यो ।
जनकपुरधाममा होटल महँगो भयो, खाना महँगो भयो, किनमेल महँगो भयो, तरकारी महँगो भयो भनेर जहिले पनि सुनिने विषय हो ।
मधेश प्रदेशसभा गठन भएको केही दिनपछि संसदमै कुरा उठेको थियो, यति महँगो ठाउँ राजधानी कसरी हुन सक्छ ।
त्यतिबेला राजधानीको लागि जनकपुरधामको विकल्प रोज्नुपर्ने विषय जोडतोडका साथ उठाइएको थियो । तर, भौगोलिक र सांस्कृतिक आधारले प्रदेशको राजधानी अन्यत्र सर्न पाएन ।
जनकपुरधाम उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएको करिब दुई महिनाभन्दा बढी समय बितिसक्यो । तर, संघको प्राथमिकतामा यो विषय नपर्दा व्यवसायीहरुले व्यापारै छाडेर भाग्न बाध्य भइरहेका छन् ।
एक जना स्थानीय व्यवसायीले छठ पर्वपछि जनकपुरको मुख्य बजार क्षेत्रबाट कम्तीमा १२ वटा सटर खाली भएको बताएका छन् ।
जानकी मन्दिरको मूख्यद्वार अगाडी नै सटर खाली भइरहेको छ । जबकी, केही वर्ष अघिसम्म एकजनाले कुनै कारणवश सटर खाली गर्ने सोच बनाउँदा पनि त्यो सटर थाप्न अन्य व्यवसायीहरुले तछाडमछाड गर्थे ।
सटरको माग उच्च हुँदा घरधनीहरुले अनुचित धरौटी (एडभान्स) उठाउने र चर्को घरभाडा लिन थालेको थियो ।
कोरोना (कोभिड) कालमा विश्वकै बजारले क्षति व्यहोर्नु परेको थियो । जनकपुरधामको बजार पनि त्यो संकटबाट अछुतो रहने कुरै भएन । त्यसबाहेक विभिन्न समयमा अनेकौ प्रकारका आन्दोलनको सिकार हुनुपरेका यहाँका व्यवसायीहरुको दुःख घरधनीहरुले नबुझिदिँदा आज मेरो सटर भाडाको लागि खाली छ भनेर प्रचार गर्नु परिरहेको देखिन्छ ।
संघका कोषाध्यक्ष परमेश्वर साह ‘आशा’ ले पनि जनकपुरधाममा अनुचित घर, सटर भाडाको कारण यहाँको बजार, व्यवसाय मारमा परेको स्वीकार्छन् ।
‘सटर, घरभाडा निर्धारण गर्ने अधिकार जनकपुरधाम उपमहानगरपालिकाको हो । हो, जनकपुरधाम क्षेत्रको बजार धारासायी भएकै हो । किराना, कपडा र मोटरको व्यापार त ध्वस्तै भयो । आलु, प्याज पनि सीमापारीबाटै ल्याउने प्रवृति बढ्यो । पहिलो कारण त खुल्ला सीमा भयो र तस्करी नियन्त्रण गर्न प्रहरी सक्षम भएन । अर्को, जनकपुरधाम छेउछाउका गाउँमा पनि बजार विस्तार हुनपुग्यो’ उनले न्यूजआजसँग भने ।
सटरभाडा महँगो हुँदा सामानको मूल्य बढ्ने कारण व्यवसायीले जनकपुरधाम बजारको विकल्प खोज्न बाध्य भएको स्वीकारोक्ति आशाको छ । उनी भन्छन्, ‘प्रत्यक्ष रुपमा उपमहानगरपालिका र अप्रत्यक्ष रुपमा प्रहरी, प्रशासनको सहयोग आवश्यक छ । जुन प्राप्त नहुँदा हामी (उद्योग वाणिज्य संघ) निरिह भइरहेका छौं ।’
Author Profile
Latest entries
- Main Newsमंसिर २, २०८१जनकपुरधामबाट धमाधम भाग्दैछन् व्यावसायी
- Main Newsकार्तिक ३०, २०८१कमला संस्कार र संस्कृति होः ढुङ्गाना
- Main Newsकार्तिक २८, २०८१गणेशमानमा पुगेर प्रकाशमानले सम्झें पुरानो सम्बन्ध
- Main Newsअशोज २९, २०८१डाइरेक्टरबाट हटाइएका डाक्टरलाई रेक्टर बनाउन चलखेल