मधेस प्रदेशमा जेठ १९ र २० गते ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै

जनकपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा “श्रमाधान रोजगार मेला” डिजाइन गरेको छ । नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले मेला सातै प्रदेशमा “श्रमाधान रोजगार मेला” आयोजना गरिएको हो ।

मधेस प्रदेशमा यहि जेठ १९ र २० गते हुने मेलाको बारेमा जानकारी दिने उदेश्यले बिहीबार जनकपुरधाम उद्योग वाणिज्य संघमा पत्रकार सम्मेलन आयोजना गरिएको हो । मधेस प्रदेशमा मेलाको आयोजना श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेश, जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रूपमा गर्दैछन् । सहआयोजक नेपाल उद्योग परिसंघ रहेको छ ।

जनकपुरधाममा दुई दिन चल्ने मेलाको उद्घाटन श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गर्नेछन् ।
पत्रकार सम्मेलनमा बोल्दै श्रम मन्त्रालयका उपसचिव एंव मेलाका मधेस प्रदेश संयोजक दिपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्ने बताए।

त्यस्तै, मेलाले रोजगार खोज्नेहरू, रोजगारदाताहरू र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकुल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउनेछ । यसले राष्ट्रलाई थप समृद्धि र सफलतार्फ लैजानसक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज गर्छ’ उनले भने ‘मधेस प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा मागहरू संकलन गरिने छ ।’

श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले मधेस प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थपिएको बताए । यो मेलामा सहभागिताका लागि ३५ स्टल राख्ने र ३० भन्दा धेरै स्टल बुकिङ भइसकेको पनि उनले जानकारी गराए । मेला भव्य र सफल बनाउन लागि सबै सरोकारवालाहरूलाई आग्रह गरे ।

मेला आज -जेठ १७ मा कोशी प्रदेशको विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले उद्घाटन गरेसँगै सुरू भइसकेको छ। यो मेला ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ । मेला हरेक प्रदेशमा २ दिन चल्नेछ । यो मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताहरू बीच मध्यस्थताको काम गर्नेछ ।

मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड लगायत विभिन्न खालका तालिम प्रदायक संस्थाहरुको पनि सहभागीता रहनेछ । साथै मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको बिषयमा छलफल गरिनेछ ।

मेलामा सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ लगायत सरोकारवालाको स्टल राखिनेछ ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज