आज छठ मनाइँदै

जनकपुरधाम । हिन्दु धर्माबलम्बीले अति श्रद्धापुर्वक मान्ने पर्वहरु मध्ये एक महत्वपूर्ण हो छठ । आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन बिहानैदेखि व्रतालुहरु तयारीमा जुटेका छन् ।

नदी र तलाउको किनारलाई दुल्हीझैं सिंगारिएको छ भने पूजा सामग्रीले सजाइएको छ । स्थानीय युवा क्लवहरुले छठ घाटलाई व्यवस्थापन गर्न एक हप्ता अगावैदेखि तल्लिन छन् ।

लगातार तीन दिनसम्म उपवास बसेर छठ व्रत गरिन्छ । गत मंगलबार नहायखाय (पवित्र जलासयमा स्नानगरी चोखो खाने) गरेपछि छठ व्रत शुभारम्भ भएको हो ।

बुधबार खरना मनाइयो । खरनाको दिन बिहानैदेखि उपवास बसेका व्रतालुले साँझ चामल, सख्खर र दूध मिसाएर पकाइएको खिर, मिठाइ र फलफुल प्रसादको रुपमा घरदेउतालाई अर्पण गरे । साँझ घरदेउताको पूजापछि नुन बिनाको साग र भगवानलाई चढाइएको प्रसाद ग्रहण गर्ने चलन छ ।

बिहीबार छठको मुख्य दिन मानिन्छ । साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन एक दिन अगावैदेखि पूजा सामग्रीको जोहोमा व्रतालुहरु लागेका छन् । बिहान छठ घाटमा पुगेर पूजास्थलाई चोख्याएर पूजा सामग्रीलाई सजाएर राखिएको छ । परिवारका कम्तीमा एक जना सदस्य दिनभर पूजास्थलमा बस्नुपर्ने हुन्छ र साँझ अस्ताउन लागेको सूर्यलाई अर्घ दिइनेछ ।

भोली (शनिबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा छठ पर्व सम्पन्न हुनेछ । यसका लागि रातभर पूजास्थलमा जाग्राम बस्न सहज होस् भनेर छठ घाटहरुमा विभिन्न प्रकारका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिदैछ ।

केही वर्ष अघिसम्म व्रतालुहरुले नै मिलेर यस्ता कार्यक्रमहरु आयोजना गर्थे भने यतिबेला नगर प्रमुख तथा वडा अध्यक्षहरुले बजेट विनियोजन गरेरै विभिन्न कार्यक्रमहरु आयोजना गर्न थालेका छन् ।

Facebook Comments Box