विद्यालय बनाइदिनेलाई ‘रघुनाथपुर–रत्न’ सम्मान

जनकपुरधाम । फकिरचन्द गामीका ज्येष्ठ सुपुत्र बेचन गामीलाई धनुषाको रघुनाथपुरमा ‘गाउँ–रत्न’ सम्मानले अभिनन्दन गरिएको छ ।
हरिहरनाथ लक्ष्मी मन्दिर धर्मशाला संरक्षण समितिको नेतृत्वमा सम्पूर्ण गाउँलेले गामी परिवारलाई रघुनाथपुर रत्न सम्मानसँगै रथारोहण गरी गाउँ परिक्रमा गराएका हुन् ।
साढे छ दशक अघि गाउँमा बुवा फकिरचन्द गामीको नामले वि.सं. २०१६ सालमा निर्माण भएको थियो, ‘फकिरचन्द गामी माध्यमिक विद्यालय’ । उक्त विद्यालयबाट हालसम्म धनुषाका विभिन्न पालिकासँगै सिरहा, महोत्तरी, सिन्धुली, उदयपुरलगायत जिल्लाका बालबालिकाहरु असल नागरिकको रुपमा उत्पादन भए ।
नामले फकिर भएपनि कामले अमिर बनाइदिएर एक पुत्रले आफ्ना पिताको नाम कहिल्यै नमेटिनेगरी पुस्तौपुस्ताको मनमस्तिष्कमा कोर्न सफल भए बेचन गामी ।
मुलुकमा प्रजातन्त्र आएपनि जनताका छोराछोरीलाई पढ्न लेख्न सहज थिएन । जिल्लाका केही गाउँमा फाटफुट विद्यालयहरु सञ्चालनमा आउने क्रम सुरु भएपनि सरकारको प्राथमिकतामा पर्न सकिरहेको थिएन । त्यो समय हो वि.सं. २०१६ सालतिरको ।
धनुषा जिल्लाको तत्कालिन रघुनाथपुर गाविस निवासी बेचन गामीले आफ्ना पिता स्वर्गीय फकिरचन्द गामीको नाउँमा एउटा विद्यालय सञ्चालन गर्ने निर्णय लिए । बुवाको भर्खरै देहावसान भएको थियो । पैतृक सम्पत्तीको कमी थिएन ।
परिवारमा चार दाजुभाई भएपनि उमेरले बालिग भइसकेका एकमात्र भाई (तीनजनाका दाजु) थिए बेचन । त्यसबेला उनले गर्ने निर्णय परिवारका सबैले सहजै स्वीकार गर्ने अवस्था थियो ।
सही समयमा सही युक्ति फुरेपछि रघुनाथपुरबासीका लागि मात्रै नभएर तिनै बेचन गामीले बनाइदिएको विद्यालय जिल्लाका अन्य गाविससँगै छिमेकी जिल्लाहरुका बालबालिकाहरुका लागि समेत भाग्य खुल्यो ।
त्यो एक समय थियो, समाजमा आर्थिक रुपले सक्षम रहेका नागरिकले आफ्ना समाजलाई शिक्षित बनाउन दान गर्थे, समाजका लागि लगानी गर्थे । देशमा के कति छन् भन्ने यकिन नभएपनि मधेश प्रदेशका करिब सबै जिल्लाका सबैजसो स्थानीय तहमा गरी सयौं यस्ता विद्यालय र कलेजहरु छन्, जुन सामाजिक लगानीमा निर्माण गरिएको हो ।