आज लक्ष्मीपूजा

जनकपुरधाम । आज लक्ष्मीपूजा । जनकपुरधामसमेत मधेश र देशसँगै संसारभर हिन्दु समुदायले आस्था र श्रद्धाभावका साथ लक्ष्मीपूजा गरिरहेका छन् ।

लक्ष्मीपूजालाई ठाउँ, परिवेश अनुसार फरक फरक नामले सम्बोधन गरिन्छ । यमपञ्चक, तिहार, दिवाली, दिपावली, दियावाती आदि नामले सम्बोधन गरिएपनि मुख्य रुपले आजको दिन धनकी देवी लक्ष्मी माताको पूजा आराधना गरिन्छ ।

लक्ष्मीपूजाको अवसरमा दशैं सकिए लगत्तै सबैले आ आफ्नो घर, आँगन, सडक र सार्वजनिक स्थानहरुलाई विशेष रुपले सफाइ गरिन्छ । सफासुग्घर स्थानमा लक्ष्मीको बास हुने जनविश्वासका कारण वर्षमा कम्तीमा एक पटक विशेष सफाइ गरिन्छ, त्यो दिन हो आज ।

लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्री भनेर पनि सम्बोधन गरिन्छ । वर्षभर चार प्रमुख रात्री मनाइन्छ । ती मध्येका एक हो सुखरात्री ।

घर, आँगन सफाइ गरी लक्ष्मीपूजाको दिन मुलढोकामा विशेष प्रकारले रंगचंगी र आकर्षक अरिपण (रंगोली) बनाइन्छ । साँझ पंक्तिबद्ध दीप प्रज्ज्वलन गरी घर र व्यापारिक प्रतिष्ठानहरुलाई झिलिमिली बनाइन्छ ।

धेरै दीप एकैसाथ प्रज्ज्वलन गरिने भएकाले पनि लक्ष्मीपूजालाई दिपावली र दियावाती भनिन्छ ।

लक्ष्मीपूजा सँध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर अलक्ष्मी भागोस्, लक्ष्मी र धन धान्यको आगमन होस भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रीहरु बताउँछन् ।

Facebook Comments Box
    ट्याग: