रविविरुद्ध सम्पत्ती शुद्धिकरणसमेत तीन मुद्दा

जनकपुरधाम । सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सम्पत्ती शुद्धिकरणसमेत तीन मुद्दा दायर भएको छ ।

बिहीबार दोस्रो पटक जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि सात दिन म्याद थप गरेपछि प्रहरीले लामिछाने विरुद्ध सम्पत्ती शुद्धिकरण र संगठित अपराध मुद्दामा पनि अनुसन्धान गर्ने जनाएको छ ।

प्रहरीले पूर्वडीआइजी छविलाल बन्जाडे (जोशी) र लीला पछाई विरुद्ध पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्ने भएको छ ।

तिनै जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलले अनुमति दिएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई थप २५ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । प्रहरीले आरोपीहरूको सम्पत्तिको स्रोतबारे पनि अनुसन्धान गर्नेछ ।

पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए । पूर्वडीआईजी छविलाल जोशी असोज ६ मा र पछाई असोज १५ मा पक्राउ परेकी थिइन् । लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले पहिलो पटक ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका थिए । उनीहरु विरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।

जीवी राई, पूर्व डीआईजी छविलाल जोशी र लामिछाने मिलेर गोर्खा मिडिया नेटवर्कमार्फत टेलिभिजन सञ्चालन गरेका थिए । गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज