अस्तव्यस्त प्रदेश सरकार, कर्मचारीले नै परेशान
![](https://newsaaja.com/wp-content/uploads/2024/09/cm_satish_singh.png)
जनकपुरधाम । मधेश प्रदेश सरकार बाहिरबाट जति राजनीतिक घोंचपेचले ग्रसित देखिन्छ यथार्थमा त्यस्तो छैन । तर, कर्मचारीको व्यवहार र हर्कतले भने सरकार परेशान देखिन्छ ।
प्रदेश सरकारका प्रमुख सचिव लेखनाथ पौड्याल आजभन्दा करिब डेढ महिना अगाडी एक हप्ताको विदा लिएर बाहिर तालिममा गए । नेपाल सरकारका मुख्य सचिवसँग विदा लिएर एक हप्ताका लागि प्रदेश छोडेका पौड्याल करिब सात हप्ता बित्दा पनि फर्किएका छैनन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकृतको भूमिकामा रहेका उपसचिव जय कुमार राउतका अनुसार प्रमुख सचिव पौड्याल दशैं लगत्तै कार्यालय खुलेको दिन आइसक्नुपर्ने थियो । तर, यो समाचार तयार गरिरहँदासम्म आइनसकेको उनले बताए ।
प्रदेश सरकार हैसियतमा आएको करिब सात वर्ष बितिसक्यो । आजसम्म कुनै सरकारले निर्धारित समयमा सबै बजेट कार्यान्वयन गरेको इतिहास छैन । सरकारले समयमा काम गर्न नसक्नुको मुख्य कारण जहिल्यै कर्मचारीको व्यवहारलाई देखाइन्छ ।
हो पनि । मुख्यमन्त्री वा मन्त्री अथवा कोही जनप्रतिनिधिले पनि सकभर समयमा जनताबीच गरेको वाचा पुरा गर्न तत्पर हुन्छन् । उनीहरुको तत्परताको प्रमुख कारण अर्को पटक पुनः भोट माग्न जाँदा जनताका अगाडी सहज रुपले प्रस्तुत गर्न सक्नुपर्ने दबाव रहन्छ ।
तर, कर्मचारीले एक पटक लोकसेवा आयोग पास गरिसकेपछि जागिर बचाइराख्नकै लागि परीक्षा दिइरहनुपर्ने बाध्यता त छैन । यसो भनिरहँदा जनप्रतिनिधिको व्यवहारले कर्मचारीलाई पनि कतिपय काम गर्न सहज नहुन सक्छ । तर, यस्तो घटना विरलै सुनिन्छ ।
खासगरी मधेश प्रदेश सरकारले कर्मचारीको व्यवहारबाट आजि भइरहेको समाचार जहिल्यै सार्वजनिक भइरहने गर्छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जस्तो महत्वपूर्ण निकाय कार्यालयमा प्रमुख नहुँदा सरकारले गर्नुपर्ने अतिआवश्यक कामसँगै दैनिक प्रशासन सञ्चालनमा पनि कठिनाइ झेल्नु परिरहेको त्यहाँस्थित कर्मचारीहरु बताउँछन् ।
सरकारले आवश्यक कर्मचारीको अभाव झेलिरहेका बेला कामै नभएका कर्मचारीहरुलाई थन्क्याएर पाल्नुपरिरहेको पनि छ मुख्यमन्त्री कार्यालयमा ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत जनकपुर प्रादेशिक अस्पतालको निर्देशक पदबाट नेपाल सरकारले फिर्ता बोलाइसकेको एक जना कर्मचारी हुन् रामनरेश पण्डित ।
प्रदेश सरकारले माग गरिरहेको कर्मचारी पाउन नसकिरहेको बेला पण्डितले राजनीतिक पावरको आधारमा आइदिएका छन् । मागै नगरेको कर्मचारी (डा.पण्डित) लाई प्रदेश सरकारले काम दिन नसकेपनि बाध्यतावश तलब खुवाउनु परिरहेको ती अधिकृतले न्यूजआजसँग भने ।
त्यस्तै, यस अघि प्रदेश सरकार मातहतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.प्रमोद यादवलाई पनि मुख्यमन्त्री कार्यालयमा थन्क्याएर तलब खुवाउनु परिरहेको उनले जानकारी दिए ।
चाहिएको कर्मचारी नपाउँदा र आवश्यक नै नभएकाहरु थुप्रिदा सरकार परेशान रहेको उनको भनाई हो ।