सबैलामा मातृकाले भने, ‘कमिशन लिन पाउँदैन’ मेयरले भने, ‘सबैले लिन्छन्’

जनकपुरधाम । गत कात्तिक ३० गते बुधबार धनुषाको सबैलामा नगरपालिकाले गरेको कामकाजवारे न्यूजआजले सार्वजनिक सुनुवाई आयोजना गरेको थियो । सार्वजनिक सुनुवाईलाई छल्न प्रतिनिधिहरु कोही पार्टी बैठकको नाउँमा व्यस्त भए त कोही पिकनिक खान हिँडिदिए ।
सबैला नगरपालिकामा माओवादीबाट मेयर र उपमेयर समेत चार जना वडा अध्यक्ष निर्वाचित भएका छन् । माओवादीका केन्द्रीय उपमहासचिव मातृका यादवसमेत सहभागी रहेको पार्टी नगर कमिटी बैठकमा मेयर, उपमेयरसमेत वडा अध्यक्षहरु सहभागी थिए ।
दुई दिनसम्म चलेको बैठकमा सबैको कुरा सुनिसकेपछि नेता मातृकाले भने, ‘पिसि (पर्सनल कमिशन) को चक्करमा देशै बर्बाद भयो । प्रदेश सरकारमा त्यस्तै छ । कम्तीमा सबैला नगरपालिकामा पिसि चल्दैन भन्ने सन्देश दिन आवश्यक भयो । यसको लागि सबै तयार हो ?’
नेता यादवको सवालमा केही जनप्रतिनिधिले ‘हुन्छ’ भने । धेरैजसो जनप्रतिनिधि मौन बसिदिए । जनप्रतिनिधिको कुर्सी नपाउने कार्यकर्ता तथा स्थानीय नेताहरुले उपमहासचिवको प्रस्तावलाई समर्थन गर्दै जयकारा नै लगाइदिए । तर, नगर प्रमुख कारीराम यादवले भने, ‘यो (कमिशन) त नियमै हो । सबैले लिइरहेका छन् ।’
जनप्रतिनिधिहरुको कुरा सुनिसकेपछि माओवादी उपमहासचिव यादवले पार्टीका जिल्ला अध्यक्ष दिपक यादवलाई निर्देशन दिँदै सबैला नगरपालिकालाई ‘पिसिमुक्त’ बनाउन माओवादीबाट जितेका जनप्रतिनिधिहरुसँग छुट्टै बसेर गृहकार्य गर्न अह्राए ।
उपमहासचिव यादवले पार्टीका केन्द्रीय सल्लाहकार ब्रजकिशोर यादवलाई पनि सबैला नगरपालिकालाई पिसिमुक्त बनाउने अभियानमा जिल्ला अध्यक्षलाई सहयोग गरिदिन अनुरोध गरेका थिए । ब्रजकिशोर यादव प्रदेश नीति आयोगका निवर्तमान सदस्य पनि हुन् ।
माओवादी जिल्ला अध्यक्ष दिपकले सबैला नगरपालिकालाई पिसिमुक्त बनाउने अभियानको विषयमा आफुले जिम्मेवारी पाएपनि विशेष कुरा गर्न पार्टी सल्लाहकार ब्रजकिशोर यादवसँग सम्पर्क गर्न भने ।
सल्लाहकार यादवले न्यूजआजसँग भने, ‘सबैतिर पिसिको हालीमुहाली छ । यसले भ्रष्टाचार बढ्दै गयो । हामीले सबैलाबाट नियन्त्रण गर्न सक्नुपर्छ भने अग्रसर भएका हौं । सकिन्छ कि सकिदैन भनेर अहिले नै निक्र्यौल गर्न हतारा नगरौं । भोलीपर्सी जनप्रतिनिधिहरुसँग बैठक बस्छौं ।’