डाइरेक्टरबाट हटाइएका डाक्टरलाई रेक्टर बनाउन चलखेल

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन महिना अघि प्रादेशिक अस्पतालको डाइरेक्टर पदबाट हटाइएका डाक्टर रामनरेश पण्डितलाई रेक्टर पदमा नियुक्त गर्न कानुनको दुरुपयोग गरेको बुझिएको छ ।

प्रतिष्ठानले नन्एकेडेमिक चिकित्सक पण्डितलाई चोरबाटो प्रयोग गरी प्राध्यापकको प्रमाण पत्र उपलब्ध गराइदियो । उक्त प्रमाणपत्रको पद प्रमाणिकरण नगर्दै रेक्टर बनाउन खोजिएको स्रोतले जानकारी दिएको छ ।

‘त्यति मात्र होइन । डा. पण्डितलाई रेक्टर बनाउन उनलाई नै अनुकुल हुनेगरी विज्ञापनको क्राइटेरिया पनि निर्धारण गरिएको छ’ स्रोतले न्यूजआजसँग भन्यो ।

उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यून्तम योग्यतासम्बन्धी मापदण्ड, २०७९ ले चिकित्सा शिक्षा क्षेत्रमा प्राध्यापक हुन तोकेको मापदण्डले डा. पण्डित प्राध्यापक नै नभएको प्रष्ट हुन्छ ।

उक्त मापदण्डले मेडिकल र डेन्टलतर्फका शिक्षक (फ्याकल्टी) का लागि चाहिने न्यून्तम अनुभव तथा लेख प्रकाशन खण्डमा भनेको छ, ‘प्राध्यापक पदका लागि न्यून्तम अनुभव तथा लेख प्रकाशन देहायबमोजिम हुनेछः

क) सम्बन्धित विषयमा डिएम, एमसीएच, पिएचडी वा सो सरह वा स्नातकोत्तर वा सो सरह शैक्षिक योग्यता हासिल गरेको र सह प्राध्यापक तहमा कम्तीमा पाँच वर्ष अनुभव प्राप्त वा स्नातकोत्तर तहको शैक्षिक योग्यता हासिल गरी १५ वर्ष शिक्षण÷सेवा अनुभव गरेको र,

ख) सह प्राध्यापक पदमा सम्बन्धित विषयमा वा चिकित्सा शिक्षा सम्बन्धी विषयमा राष्ट्रिय वा अन्तर्राष्ट्रिय इन्डेक्स जर्नलमा कम्तीमा छवटा मौलिक अनुसन्धान लेख प्रकाशन गरेको, जसमध्ये दुईवटा लेखमा मुख्य लेखक भएको ।’

डा. पण्डितले प्राध्यापक हुन आवश्यक उक्त मापदण्ड पुरा गर्न नसकेको र प्रतिष्ठानले चोर बाटो प्रयोग गरी उपलब्ध गराइदिएको प्रमाण पत्र समेत पद प्रमाणिकरण हुन नसकेको अवस्थामा विज्ञापनमै उनलाई अनुकुल हुनेगरी प्रावधान बनाइदिएको देख्न सकिन्छ । जुन कानुन विपरित हो ।

असोज १६ गते प्रतिष्ठानले रेक्टर पदका लागि गरेको विज्ञापनका लागि ३० गते (भोलि) सम्म आवेदन दिन सकिने भनिएको छ ।

अहिलेसम्म उक्त पदका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालका पूर्व निर्देशक डा. पण्डित र विभिन्न निकायमा नेतृत्व सम्हालिसकेका डा. राजेन्द्र प्रसाद साहले आवेदन दिएको बुझिएको छ ।

Facebook Comments Box