दशैं (सस्ता) बजारमा तीन करोडको कारोबार

जनकपुरधाम । दशैंको अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्ता बजारमा यस वर्ष कम्तीमा तीन करोड रुपैयाँ बराबरको खरिद बिक्री भएको अनुमान गरिएको छ ।

दैनिक उपभोग्य वस्तु बिक्री वितरण हुने सस्ता बजार जनकपुर–दशैं मेलाको मुख्य आकर्षण हो । यो मेलामा अनेक प्रकारका सामान उपलब्ध भएपनि मुख्यतया साबुन, सर्फ, अगरबत्ती, चियापत्ती, चाउचाउ, भुजिया, प्लाष्टिकका भाडा वर्तन, जुताचप्पल र लत्ताकपडा किन्ने ग्राहकको घुइँचो लाग्छ ।

मेलामा आउने अधिकांस मानिसले सस्ता बजारबाट साबुन, सर्फ र अगरबत्ती किनेर फर्किने गरेको आयोजक जनकपुरधाम उद्योग वाणिज्य संघका कोषाध्यक्ष परमेश्वर साह ‘आशा’ को भनाई छ । उनले सस्ता बजारमा यस वर्ष कम्तीमा तीन करोड रुपैयाँको कारोबार भएको दावी गरे ।

घटस्थापनाको दिनदेखि दशमीसम्म यो बजार सञ्चालन गरिएपनि मुख्य आकर्षण भने पञ्चमीदेखि अष्ठमीसम्म रहने गरेको संघकी महिला उपाध्यक्ष रिंकु शाहले जानकारी दिइन् ।

जनकपुरधामका लागि दशैं मेलाको आकर्षण सस्ता बजार र सस्ता बजारको आकर्षण घरेलु उपयोगका सामान रहेको उल्लेख गर्दै शाहले भनिन्, ‘मन्दिरबाट प्रसादी लिएर फर्किए जस्तै सस्ता बजारमा आउनेहरु कम्तीमा साबुन वा अगरबत्ती वा दुवै सामान किनेरै फर्किने गर्छन् ।’

Facebook Comments Box