धनुषामा मात्रै ८ अर्ब बेरुजु, सबैला प्रथम (कुन पालिकामा कति बेरुजु विवरणसहित)

जनकपुरधाम । बजेट अनुशासनहिन र कानुन विपरित खर्च गर्ने प्रवृतिको उपज हो बेरुजु । जनताको सबैभन्दा नजिकको सरकार भनिएका स्थानीय तहहरुले बजेट अनुशासनको पालना नगर्दा आर्थिक अनियमितता मात्रै बढेको छैन । स्थानीय सरकारप्रति जनताको भरोसा नै कमजोर हुँदैछ ।
आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदन केलाउने हो भने धनुषा जिल्लाका १८ वटा पालिकामा मात्रै ८ अर्ब २० करोड ४९ लाख ८० हजार रुपैयाँ बेरुजु देखिन्छ ।
धनुषा जिल्लामा एक उपमहानगर, ११ नगर र ६ गाउँसमेत १८ पालिका छन् । लेखा परीक्षण प्रतिवेदन अध्ययन गर्दै जाँदा बेरुजु रकम बढाउन हरेक पालिका प्रतिस्पर्धामा लागेको देखिन्छ । त्यसमा सबैला नगरपालिका बेरुजु रकम बढाउने प्रतिस्पर्धा जितेर प्रथम स्थान प्राप्त गरेको छ ।
जिल्लाकै सबैभन्दा बढी बजेट पाउने पालिका जनकपुरधाम उपमहानगर हो । तर, उक्त पालिकालाई पनि बेरुजुमा पछार्न सबैला नगरपालिका सफल भएको छ । सबैलाको बेरुजु रकम ९८ करोड १६ लाख १० हजार हो ।
दोस्रो स्थानमा रहेको जनकपुरधाम उपमहानगरपालिकाले ९७ करोड ८ लाख ३३ हजार बेरुजु राखेको छ । तेस्रो स्थान कायम राख्न सफल हंसपुर नगरपालिकाको बेरुजु रकम ८४ करोड ४५ लाख ५७ हजार रहेको छ ।
चौथो स्थानमा रहेको शहीदनगर नगरपालिकाले ६९ करोड ३३ लाख ३२ हजार बेरुजु रकम राखेको छ ।
पाँचौ स्थानमा रहेको गणेशमान चारनाथ नगरपालिकाको नाउँमा ६१ करोड ४७ लाख २६ हजार बेरुजु रहेको देखिन्छ ।
छैठौं स्थानमा रहेको छ, कमला नगरपालिका । कमलाको नाउँमा ५१ करोड ७२ लाख ५४ हजार बेरुजु रकम रहेको छ ।
सातौ स्थानमा रहेको विदेह नगरपालिकाको नाउँमा ४९ करोड ९३ लाख १४ हजार बेरुजु रहेको छ ।
आठौ स्थानमा रहेको मिथिला नगरपालिकाले पनि ४५ करोड ६१ लाख ८६ हजार बेरुजु रकम राखेको छ ।
नवौ स्थानमा बटेश्वर गाउँपालिकाको नाम देखिन्छ । बटेश्वरले ३८ करोड ७२ लाख ११ हजार बेरुजु रकम राखेको छ ।
दशौं स्थानमा रहेको मिथिला विहारी नगरपालिकाको नाउँमा ३६ करोड ५७ लाख ५९ हजार बेरुजु रकम देखिन्छ ।
एघारौं स्थानमा रहेको मुखियापटीमुसरनियाँ गाउँपालिकाले २९ करोड ३० लाख ६४ हजार बेरुजु रकम राखेको छ ।
बाह्रौं स्थानमा लक्ष्मीनीयाँ गाउँपालिका देखिन्छ । लक्ष्मीनीयाँ गाउँपालिकामा २८ करोड ६३ लाख ८९ हजार बेरुजु रकम रहेको छ ।
तेह्रौं स्थानमा रहेको धनौजी गाउँपालिकामा २७ करोड ५८ लाख ३७ हजार बेरुजु रकम राखेको छ ।
चौधौं स्थानमा रहेको धनुषाधाम नगरपालिकाको नाउँमा पनि २४ करोड ८३ लाख १४ हजार बेरुजु रकम देखिन्छ ।
पन्ध्रौं स्थानमा औरही गाउँपालिका रहेको छ । औरहीमा २३ करोड ३८ लाख २१ हजार बेरुजु रकम छ ।
सोह्रौं स्थानमा रहेको क्षिरेश्वरनाथ नगरपालिकामा २२ करोड २० लाख २६ हजार बेरुजु रकम रहेको छ ।
त्रहौं स्थानमा देखिन्छ, जनकनन्दनी गाउँपालिका । जनकनन्दनीमा १८ करोड ४४ लाख १४ हजार बेरुजु छ ।
सबैभन्दा कम बेरुजु रकम रहेको नगराइन नगरपालिकमा १३ करोड ३ लाख ३३ हजार देखिन्छ ।