सबैला नगरपालिकाः भ्रममा लेखासमिति, बेरुजुको चाङ

जनकपुरधाम । ‘पालिकाले अन्तरसरकारी अख्तियारी, आन्तरिक आय तथा विविध कोष लगायतको वित्तिय विवरण कानुन बमोजिम दुरुस्त राखेको छैन । यी बाहेक ऐन नियमको पालना, आन्तरिक नियन्त्रण व्यवस्था, सम्पत्तिको संरक्षण, स्रोतसाधनको प्राप्ति र उपयोग, बजेट व्यवस्थापन र राजश्व संकलन, सार्वजनिक खरिद व्यवस्थापन, कार्यक्रम स्वीकृति एवं कार्यान्वयन, उपभोक्ता समितिलाई अनुदान वितरण र अनुगमन तथा सेवा प्रवाह लगायतका विषयमा सबैला नगरपालिकाले कानुनसम्मत काम गर्न सकेको छैन’ सबैला नगरपालिकाको सन्दर्भमा महालेखा परीक्षकको प्रतिवेदन २०७९/०८० ले औंल्याएको छ ।
उक्त आर्थिक वर्ष (२०७९/०८०) को लागि सबैला नगरपालिकाले गरेको लेखा परीक्षण प्रतिवेदनलाई नै आधार मान्ने हो भने पनि पर्याप्त आर्थिक अनियमितता भएको देख्न सकिन्छ ।

एक आर्थिक वर्षमै ३ करोड ७९ लाख ८५ हजार बेरुजु लेखा परीक्षण प्रतिवेदनले औंल्याएको छ । ती मध्ये २ करोड २२ लाख १२ हजार रुपैयाँ खर्च गरेको कागजात नै पेश नभएको प्रतिवेदनले भनिरहेको छ । १३ लाख ७१ हजार रुपैयाँ असुल उपर नै गर्न लेखा परीक्षणले भनेको वारे महालेखा परीक्षकको प्रतिवेदनले उजागर गरेको छ ।

सबैला नगरपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ को बजेट खर्च गर्नु अगावै झण्डै एक सय करोड रुपैयाँ बेरुजु राखेको छ ।
महालेखा परीक्षकको प्रतिवेदनलाई नै आधार मान्ने हो भने पनि ९८ करोड १६ लाख १० हजार रुपैयाँ बेरुजु रहेको छ सबैला नगरपालिकामा ।

नगरपालिकाको नेतृत्व इमान्दार र सक्षम भए विगतको बेरुजु घटाउँदै जाने र आफ्नो कार्यकालमा बेरुजु हुनै नदिनेगरी काम गर्नुपर्ने हो । सबैला नगरपालिकाको सन्दर्भमा पदाधिकारी र कर्मचारी सबै मिलिजुली बाँडेर कार्यकाल पुरा गरिरहेको देख्न सकिन्छ ।

दुर्भाग्यपूर्ण विषय त के हो भने, नगरपालिकाले गत आर्थिक वर्षमा कुन स्रोत र निकायबाट कति बजेट प्राप्त गर्यो र कुन काममा कति बजेट खर्च गर्यो भन्ने जानकारी लिन वडा अध्यक्षदेखि उपप्रमुखसम्मले संघर्ष गर्नु परिरहेको छ ।

यद्यपि, यस्तो समान्य जानकारी आफैले सार्वजनिक सुनुवाई गरेर बाँड्नुपर्ने दायित्व बोकेका पदाधिकारीहरुले सूचना लुकाउन जालझेल र पावरको दुरुपयोग गरिरहेको देखिन्छ ।

आन्तरिक लेखा परिक्षक र सार्वजनिक लेखा समितिले तोकिएको जिम्मेवारी मात्रै निर्वाह गरिदिने हो भने पनि नगरपालिकाको बेरुजु घट्ने क्रमको सुरुवात हुन्थ्यो ।

यहाँ, सार्वजनिक लेखा समितिका संयोजकको जिम्मेवारी बोकेका वडा नम्बर १ का अध्यक्ष मिथिला शाह दुर्गा पूजाको अवसरमा मेला लगाउन र खेलकुदमा तल्लिन देखिन्छन् ।

‘म लेखा समितिको संयोजक हो । समितिको बैठक बोलाउँदा कोही उपस्थित हुँदैनन्, काम गर्ने वातावरण नै छैन’ भन्ने शाहले मेला लगाउन कसले कसरी जिम्मेवारी दिए र त्यहाँ काम गर्न (बजेट खर्च गर्न) कसले कसरी वातावरण बनाइरहेका छन् ? न्यूजआजको प्रश्नमा जवाफहिन बन्न पुग्छन् ।

Facebook Comments Box