‘मेयरलाई मेरो चुनौति छ, सार्वजनिक सुनुवाई गर्नुस्’

सबैला नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीचको विवाद अदालतसम्म पुगेको छ । आखिर यो विवाद किन आयो ? अदालत पुगेकी उपप्रमुख रहिमा खातुनसँग न्यूजआजले गरेको संक्षिप्त कुराकानीः

सबैला नगरपालिका जहिले पनि विवादमै पर्छ किन ?
सबैला नगरपालिका विवादमा परेकै छैन । यहाँ नगर प्रमुखले विवाद झिकेको हो । एक वर्षको योजना र बजेट बनाउँदा मेरो नगरपालिकामा के के विकास हुँदैछ भनेर यहाँका जनताले थाहा पाउनु पर्छ । दैलोमा आएको सरकारको काम यहीँ हो ?

तपाईको नजरमा हुनुपर्ने के हो ?
स्थानीय सरकार सञ्चालन ऐन अध्ययन गर्नुस्, योजना तर्जुमा गर्ने प्रक्रिया के हो त्यो बुझ्न आवश्यक छ । जनतालाई चाहिएको विकासको प्रस्ताव जनताले नै गर्न पाउनुपर्छ । यसरी जनस्तरबाट प्रस्ताव आउने र निर्धारण हुने विभिन्न प्रक्रियाहरु छन् । मैले नियम र विधिको कुरा गरेको छु । कानुन विपरित भएको काम रोक्नुपर्छ भन्ने मेरो भनाई हो । आज म यसकै लागि अदालतसम्म पुग्नुपरेको छ ।

मेयरसँग तपाईको विवाद के त ?
मेयरसँग मेरो व्यक्तिगत रुपमा कुनै विवाद छैन । म र मेयरसाब एउटै पार्टीका कार्यकर्ता हौं । उहाँले कानुन विपरित नगरपालिकालाई हाँक्न खोजेपछि रोक्नुपर्ने मेरो कर्तव्य र दायित्व हो । मैले मेरो कर्तव्य पालना गर्न सक्नुपर्छ ।

स्थानीय अदालतको न्यायाधीश रहेको तपाईँ नै अदालतको ढोकासम्म पुग्नुपर्यो । आपसमै मिलाउन सकिदैनथ्यो ?
आपसमा मिल्ने र नमिल्ने कुरा छैन । नगर प्रमुखले नगरको समग्र हित सोच्नुपर्ने थियो । प्रमुखले बाटो बिराउँदा उपप्रमुखको हैसियतले मैले नगरको हितमा अडान लिन सक्नुपर्छ । मैले यसको बारेमा मेयरसाबसँग बारम्बार कुरा गरेको पनि हो । तर, उहाँहले एकलौटी रुपमा अघि बढ्ने चेष्टा देखाएपछि मसँग विकल्प के थियो ? झन् उहाँले नै अदालत जाउ भनिसकेपछि म बाध्य भएर अदालतको ढोकामा पुग्नुपरेको हो ।

अदालतबाट न्याय पाउनु भयो त ?
अदालतले १५ दिनभित्र मेयरसाबको जवाफ मागेको छ । मलाई विश्वास छ न्याय पाउँछु ।

जनताले कसरी न्याय पाउँछ ?
म सबैला नगरपालिकाको उपमेयरले जनताबाट जितेर आएदेखि आजसम्म कति बजेट कहाँ के शिर्षकमा खर्च गरेको छु, मेयरले कहाँ खर्च गर्नुभयो ? कसले कुन गाडीमा कति इन्धन खर्च गर्नुभयो ? यी प्रश्नहरुको जवाफ जनताले पाउन सक्नुपर्छ । बजेट सार्वजनिक हुनुपर्छ । यसका लागि सार्वजनिक सुनुवाई गर्नु पर्यो नि त ! मेयरसाबलाई मेरो चुनौति छ, तपाई सही हो भने खुल्ला चौरमा सार्वजनिक सुनुवाई गर्नुस् ।

Facebook Comments Box