सबैलाका मेयरलाई अदालतले सोध्यो, ‘नगरसभामा के भएको हो ?’

जनकपुरधाम । धनुषास्थित सबैला नगरपालिकामा जनप्रतिनिधिहरुको स्वार्थ पुरा नहुँदा एउटै राजनीतिक दलका भएपनि नगर प्रमुख र उपप्रमुखबीच विवाद चुलिएको छ ।

नगर प्रमुख कारीराम यादव र उपप्रमुख रहिमा खातुनबीचको विवाद नगरभित्रै सिमित रहन सकेन । अदालतसम्मै पुग्यो ।
नगर प्रमुखले तानाशाही प्रवृति प्रदर्शन गर्दै उपप्रमुखको अस्तित्व र भूमिकालाई वास्ता नगरेको भन्दै अदालत पुगेकी खातुनले असोज १४ गते बसेको नगरसभा रद्द गर्न माग गरेकी छिन् ।

नगर प्रमुख यादवले कानुन विपरित नगरसभा गरेको आरोप खातुनको हो । नगर उपप्रमुख खातुनको मुद्दालाई सुनुवाई गर्दै अदालतले उनको माग बमोजिम किन गर्न मिल्दैन भनि नगर प्रमुखसँग सोधेको छ ।

‘यसमा के कसो भएको हो ? निवेदन (खातुनले अदालतमा दर्ता गराएको) माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ?’ उच्च अदालत जनकपुरका न्यायाधीश किरण कुमार पोखरेलले जारी गरेको आदेशमा सबैला नगर प्रमुख यादवसँग सोधेका हुन् ।

नगर प्रमुख यादव एकलौटी रुपमा तानाशाही प्रवृति प्रदर्शन गर्दै नगरसभा सम्पन्न गरेको दावी गरिरहेको आरोप उपप्रमुख खातुनको छ । उनले भनिन्, ‘कानुन विपरित नगरसभा भइरहेको थाहा पाएपछि मैले बहिष्कार गरेर निस्केकी हुँ । प्रक्रिया पुर्याएर गर्नुस् भन्दा नगर प्रमुखले नसुनेको जस्तो गरेपछि म नगरसभा बहिष्कारगरी बाहिर निस्केको थिएँ ।’

आफु बाहिर निस्केपछि नगर प्रमुखले एकलौटी रुपमा नगरसभा गरेको उनले बताइन् । योजना तर्जुमा नगरेको र राजश्व परामर्श समितिको सुझाव नसमेटिएको गुनासो खातुनको छ ।

अदालतले खातुनको निवेदन बमोजिम नगरसभा रोक्ने सवालमा नगर प्रमुख यादवलाई १५ दिनभित्र जवाफ पेश गर्न आदेश गरेको छ ।

Facebook Comments Box