संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित, के-के छ व्यवस्था ?

काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।
बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त विधेयकलाई सर्वसम्मतले पारित गरेको हो।
यसअघि संवैधानिक परिषद्ले कुन निर्णय कसरी गर्ने भन्ने विषयमा विवाद रहँदै आएकोमा अब उक्त समस्या हल हुने भएको छ। विधेयकको दफा ९ अन्तर्गत संवैधानिक परिषद्को अध्यक्ष (प्रधानमन्त्री) र तत्काल बहाल रहेका ५० प्रतिशत सदस्य उपस्थित भएमा संवैधानिक परिषद् बैठकका लागि गणपुरक संख्या पुगेको मानिने उल्लेख गरिएको छ।
संवैधानिक परिषद्को मिति, स्थान र समयको जानकारी परिषद्का सचिवले विद्युतीय माध्यमबाट गराउन सक्ने व्यवस्था रहेको छ।
संवैधानिक परिषद्ले गर्ने कुनै पनि विषयमा सर्वसम्मतले निर्णय हुन नसकेमा प्रधानमन्त्री र बहाल रहेका सदस्यहरुको बहुमतले निर्णय गर्न सकिने व्यवस्था गरिएको छ।