मुख्यमन्त्री सिंहलाई एचए संघको तीन सुझाव
जनकपुरधाम । हेल्थ असिस्टेन्ट (एचए) संघको मधेश प्रदेश कार्यसमितिले मुख्यमन्त्री सतिश कुमार सिंहलाई तीन बुँदे सुझाव दिएको छ ।
स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएर कानुनको रुपमा लागु भएपछि संघले मंगलबार मुख्यमन्त्री सिंहलाई तीन बुँदे सुझाव सहितको ज्ञापन पत्र बुझाएको हो । संघका अध्यक्ष धिरेन्द्र कुमार यादवको नेतृत्वमा मुख्यमन्त्री सिंहलाई बुझाइएको ज्ञापन पत्रले अहेब र एचए बीचको फरक पृष्ठभूमि केलाइएको छ ।
पहिलो सुझावमा भनिएको छ, ‘स्वास्थ्य सेवा ऐन अनुसार एसईई पछिको १८ महिने कोर्सको शैक्षिक योग्यताका आधारमा अहेब चौथो तहमा जागिर प्रवेश गर्छन् । बढुवा भएर छैठौं तहसम्म पुग्न सक्ने प्रावधान रहेको छ । हेल्थ असिस्टेन्ट एसईई पछि तीन वर्षे कोर्सको शैक्षिक योग्यता आधारमा पाँचौ तहमा जागिर प्रवेश गर्छन् । तह बढुवा भएर सातौं तहसम्म पुग्न सक्छन् ।’
दोस्रो सुझाव, ‘एनमा अधिकतम दुई तहसम्म स्तरवृद्धि गर्ने प्रावधान छ । चौथो तहमा प्रवेश गर्ने अनमी वा सिअहेबलाई बढुवा गरी छैठौं तहसम्म पुर्याउन सकिने प्रावधान छ ।’
तेस्रो सुझाव, ‘स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा शैक्षिक योग्यता र प्राविधिक ज्ञान तथा सीपलाई आधार बनाएर तयार गरिएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भइसकेपछि तुरुन्त लागु गरियोस् ।’
संघले मुख्यमन्त्री सिंहलाई दिएको ज्ञापन पत्रको बोधार्थ प्रदेश प्रमुख र सभामुख समेत १० वटा निकायलाई बुझाइएको छ ।