‘श्री ५ लाई हटाउने माओवादी श्री ३ बनेको हो ?’
सबैला (धनुषा) । तीन महिनापछि बसेको सबैला नगरपालिकाको नगरसभा तीन घण्टामै बिथोलिएको छ ।
नगर प्रमुख कारीराम यादवले कानुन विपरित नगरसभा गर्न खोजेपछि आफुले बहिष्कार गरेको र वडा अध्यक्षहरुले बिथोलेको उपप्रमुख रहिमा खातुनले जानकारी दिइन् ।
‘योजना तर्जुमा भएकै छैन । राजश्व परमार्श समितिको बैठक बसेको छैन । यस्तो अवस्थामा परामर्श समितिको राय बिनै कसरी हुन्छ नगरसभा ?’ नगर उपप्रमुख खातुनले भनिन्, ‘हामीले विधि प्रक्रिया अनुरुप नगरसभा बस्न माग गरिरहेका छौं । नगर प्रमुखले जबरजस्ती गर्न खोज्छन् । नगरसभामा पनि जबरजस्ती गर्न पाइन्छ ?’
उपप्रमुख खातुनले नगर प्रमुख कारीराम यादवको हरेक क्रियाकलाप तानाशाही शैलीमा प्रदर्शन भइरहेको आरोप लगाइन् । ‘हिजो श्री ५ लाई हटाउने माओवादी आज श्री ३ कसरी बन्यो ?’ नगर उपप्रमुख खातुनले प्रश्न गरिन् ।
सोमबार दिउँसो ठिल्लास्थित सरस्वति माविको सभाहलमा आयोजित नगरसभा बहिष्कार गरी नगर उपप्रमुख खातुन बाहिर निस्केपछि वडा अध्यक्षहरुले माइन्यूट च्यातिदिएर सभा बिथोलिदिएका हुन् ।
सबैला –११ का वडा अध्यक्ष सरोज यादवले माइन्यूट च्यातेपछि वडा नम्बर ७, ९, १०, १२ र १३ का वडा अध्यक्षहरु क्रमशः रामदेव सहनी, मनिष राय, राजकुमार साह, रामनारायण अधिकारी र देवनारायण महतोले पनि साथ दिएका थिए ।