जेठ २१ गते प्रदेशसभा बस्दै, २३ गते मुख्यमन्त्रीले विश्वासको मत लिने
जनकपुर । मधेश प्रदेशसभाको तेस्रो अधिवेशन आहवान भएको छ । जेठ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको संसद आहवान गर्ने निर्णय अनुरुप जेठ २१ गते तेस्रो अधिवेशनको प्रथम बैठक बस्न लागेको हो ।
प्रदेशसभाको तेस्रो अधिवेशनले नीति तथा कार्यक्रम ल्याउनेदेखि अगामी आर्थिक वर्ष २०८१/०८२ प्रस्तुत गर्ने दायित्व पनि रहेको छ ।
मुख्यमन्त्री सरोज कुमार यादवनिकट स्रोतको अनुसार उनले २३ गते विश्वासको मत लिन तयार भएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको संयुक्त बैठकपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने मनस्थिति बनाएका हुन् ।
२३ गते उनले विश्वासको मत लिइसकेपछि २५ गते नीति तथा कार्यक्रम ल्याउने र असार १ गते बजेट ल्याउने तयारीमा लागेको जसपा नेपाल संसदीय दलका उपनेता रामाशिष यादवले न्यूज आजलाई जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत पाउने लगभग सुनिश्चित भएको छ ।