मखानाखेती गर्ने किसानलाई मुख्यमन्त्रीको सम्मान
मटिहानी (महोत्तरी) । बुधबार महोत्तरीको मटिहानीमा मुख्यमन्त्री सतिश कुमार सिंहले चार जना किसानलाई फुलमाला लगाउँदै प्रशंसा पत्रका साथ सम्मान गरे । वार्षिक ३० मन (प्रतिमन ४० किलो) भन्दा बढी मखान उत्पादन गर्ने किसानहरुलाई मुख्यमन्त्री सिंहले एक समारोहबीच सम्मान गरेका हुन् ।
त्यसो त मटिहानीमा दशकौंदेखि मखान खेती हुँदै आएको छ । तर, यस अघि हुँदै आएको निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायमुखी बनाउन सरकारले किसानलाई सहयोग गर्नुपर्ने बहस सुरु भएको छ ।
ललितपुरस्थित मिताहारा न्युट्रिशनल सर्भिस एण्ड रिसर्च सेन्टरले मटिहानीका मखान उत्पादक कृषक तथा स्थानीय व्यवसायीको क्षमता विकासका लागि काम गरिरहेको छ । यसैबीच मिथिला मखाना इन्ष्टिच्यूट स्थापना गरी मटिहानीमा उत्पादित मखानालाई ‘मिथिला मखाना’ नामले ब्राण्डिङ थालिएको छ ।
‘मधेशमा मखाना खेतीको अवस्था र सम्भावना’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले बजारको अभाव नहुने र मूल्य कम भएर घाटा भएको भन्ने गुनासो सुन्नै नपर्ने मखाना खेतीलाई सरकारी स्तरबाटै प्रबद्र्धन हुनुपर्ने बताए । उनले भने, ‘यो यस्तो खेती हो, उत्पादन बेच्न किसानलाई समस्या होइन, कति मखाना छ ? मलाई देउ दुई हजार बढी दिन्छु भन्दै व्यापारी नै किसानको घरमा धाइरहेको देखिन्छ ।’
करिब साढे ८ सय मेट्रिक टन मखाना नेपालका लागि भारतबाट आयात भइरहेको छ । नेपालमा भने जम्मा ७३ मेट्रिक टन मखाना उत्पादन भइरहेको छ । मुख्यमन्त्री सिंहले भने, ‘भोली दुई हजार मेट्रिक टन उत्पादन गर्न सक्यौँ भने नेपालमा हुने आयातलाई रोकेर निर्यातको वातावरण बनाउन सक्नुपर्छ । यतिसम्म गर्न सके नेपालको व्यापार घाटा कम गर्न पनि टेवा पुग्छ ।’
मटिहानीका नगर प्रमुख हरि प्रसाद मण्डलले मखाना खेती बाहिरबाट हेर्दा झन्झटिलो भएपनि आयआर्जनको दृष्टिकोणले निकै महत्वपूर्ण रहेको बताए । मटिहानीको मखाना गुणस्तरमा भारतीय उत्पादनको तुलना राम्रो मानिएको उल्लेख गर्दै नगर प्रमुख मण्डलले भने, ‘सरकारीस्तरबाट सिँचाईको मात्रै व्यवस्था गर्न सकिए मखाना उत्पादनका लागि किसान उत्साहित हुनेछन् ।’
मिथिला मखाना इन्ष्टिच्यूटलाई मिताहारा न्युट्रिशनल सर्भिस एण्ड रिसर्च सेन्टर मार्फत सहयोग गर्ने जिजिजिआईले बहुउपयोगी पोषणयुक्त भएकाले मखाना खेती प्रबद्र्धनको आवश्यक्ता औंल्याए । जिजिजिआईका प्रतिनिधि राकेश साहले मखाना खेती रोजगारीको दृष्टिकोणले पनि उपयुक्त भएको उल्लेख गरे ।
वार्षिक ३० मनभन्दा बढी मखाना उत्पादन गर्ने संजय सहनी, हरि यादव, विसुन सहनी र ललन मुखियालाई सम्मान गरिएको थियो । कार्यक्रममा ४५ जना किसान सहभागी थिए ।
महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र चौधरी, जनकपुरधाम उद्योग वाणिज्य संघकी उपाध्यक्ष रिंकु शाह, स्वीस कन्ट्याक्टका खिरेन्द्र यादव लगायत विभिन्न संघ, संस्थाको सहभागिता थियो ।