थुनुवा कक्ष फुटाएर भागेका सबै समातिए, कसरी हुँदैछ अनुसन्धान ?
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्ष फुटाएर भागेका सबै (नौ) जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारी आफै सक्रिय भएर परिचालन गरेको प्रहरीको मोबाइल टोलीहरुले दुई दिन भित्र सबै फरार थुनुवाहरुलाई पुनः थुनाभित्र ल्याउन सफल भएका हुन् ।
थुनुवा कक्षको भेन्टिलेशन फुटाएर सोमबार बिहान करिब ३ बजेको समयमा ९ जना थुनुवाहरु भागेका थिए । ती मध्ये एक जनालाई तत्कालै जनकपुरको जनक चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । बाँकी ८ जनालाई मंगलबार दिउँसोसम्म पक्राउ गरी थुनामा राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
थुनाबाट फरार भएर पुनः पक्राउ पर्नेहरुः
अमित कुमार झा, वर्ष २५, जनकपुरधाम –२०, रुपैठा
रंजित मण्डल, वर्ष २६, विदेह नगरपालिका –७, धनुषा
रोशन कुमार मण्डल, वर्ष २४, विदेह नगरपालिका –७, धनुषा
अभाष्कर कुमार यादव, वर्ष ३३, सिरहा –१३, सिरहा
विशाल मुखिया, वर्ष २३, औरही गाउँपालिका –२, देउरी परवाहा
मनिष मण्डल, वर्ष १८, नगराईन नगरपालिका –२, धनुषा
विक्की कार्की, वर्ष २२, जनकपुरधाम –४, धनुषा
सुमित मेस्तर (नाबालक), वर्ष १७, जनकपुरधाम –१, धनुषा
कसरी हुँदैछ अनुसन्धान ?
जिल्ला प्रहरी प्रवक्ता (डिएसपी) अवाका अनुसार यस घटनालाई दुई कोणबाट अनुसन्धान हुँदैछ ।
पहिलो, थुनुवा कसरी भागे ? लापर्वाही कसको हो ? लापर्वाही गर्नेलाई कस्तो कारबाही हुन्छ भन्ने विषय हो ।
अर्को, थुनुवा कक्ष फुटाएर भाग्नेहरुलाई कारबाहीको कुरा आउँछ । उनीहरुलाई कारागार ऐन बमोजिम मुद्दा चलाइने डिएसपी अवाले जानकारी दिए ।