डा. पण्डितलाई हटाइएको दुई महिनापछि प्रादेशिक अस्पतालले पायो नयाँ डाइरेक्टर

जनकपुरधाम । प्रशासनिक कमजोरीले थिलथिलिएको जनकपुरधामस्थित प्रादेशिक अस्पतालले शुक्रबार साँझ नयाँ डाइरेक्टर पाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रादेशिक अस्पतालमै कार्यरत रहेका बालरोग विशेषज्ञ डा. जामुन सिंहलाई नयाँ निर्देशकको रुपमा चयन गरेको हो ।

बारम्बार अन्यत्र सरुवा गरिएपनि राजनीतिक आडमा डा. रामनरेश पण्डितले जसरी पनि निर्देशक पद कब्जा गरिराख्ने दाउमा लागेका थिए ।

प्रादेशिक अस्पतालको निर्देशक पदमा कायम रहेकै बेला डा. पण्डितलाई संघीय मन्त्रालयले काठमाडौंमा तानेको थियो । तर, उनले काज सरुवाको बहानामा जनकपुर अस्पतालकै निर्देशकमा पुनः कायम हुन राजनीतिक दबाव बनाइरहेको बेला डा. सिंह नयाँ निर्देशक नियुक्त भएका हुन् ।

बिरामीले प्याथोलोजी ल्याब मार्फत तिर्ने मासिक करोडौं रुपैयाँको संकलन र प्रदेश सरकारबाट उल्लेख्य बजेट प्राप्त भएपनि अपेक्षाकृत अस्पतालले सेवा प्रवाह गर्न सकिरहेको छैन । यसैबीच नेतृत्व सम्हालेका डा. सिंहले अस्पतालको चौतर्फी सुधारको पहल गर्ने अपेक्षा सर्वसधारणको छ ।

अस्पतालमा जागिर मात्र पकाएर भएभरको ज्ञान र सीप निजी क्लिनिकमा बेच्ने पूर्ववत नेतृत्वको बाटोमा नलाग्न नयाँ निर्देशक डा. सिंहलाई जनसुझाव आइरहेको छ ।

ढिलै भएपनि युवा नेतृत्व पाएको अस्पतालले अब काँचुली फेर्ने आशा व्यक्त गर्दै त्यहाँस्थित कार्यरत एक मेडिकल अफिसरले भने, ‘नेतृत्व इमान्दार भए हामी सबै साथ दिन तयार छौं । हामी सुध्रिन्छौं र अस्पताल पनि ।’

Facebook Comments Box
न्यूज आज